तारा एयरको विमान सम्पर्कविहीन

  • 24 फेब्रुअरी 2016
तारा एअरको एक विमान तस्वीर कपीराइट taraair.com
Image caption तारा एअरका विमानले नेपालका दुर्गम भेगमा उडान भर्ने गर्दछन्।

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको एउटा ट्वीनअटर विमान सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणका एकजना अधिकारीले बताएका छन्।

बिहान ७ बजेर ५० मिनेटमा पोखरा विमानस्थलबाट उत्तरी जिल्ला मुस्ताङ्को जोमसोमका लागि उडेको ट्वीनअटर विमान सम्पर्कविहीन भएको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बीबीसीलाई बताए।

सो विमानको उडेको १० मिनेटपछि नागरिक उड्ड्यन टावरसँग सम्पर्क विच्छेद भएको बताइएको छ।

गौतमका अनुसार उद्धार समन्वयका लागि एक टोली बनाई सम्पर्कविहीन विमानको खोजीका लागि कास्की, म्याग्दी, पर्वत र मुस्ताङ जिल्लामा पर्ने क्षेत्रहरुमा तीनवटा हेलिकोप्टर परिचालन गरिएको छ।

गौतमले मध्यान्हको समयमा भने, “खोजी कार्य जारी छ, तर विमानको अवस्थाबारे हामीलाई अझै कुनै जानकारी प्राप्त भएको छैन।”

यात्रु

विमानमा चालक दलका सदस्यसहित २३ जना रहेको बताइएको छ।

३ जना चालक दलका सदस्य र २० जना यात्रुमध्ये दुई नाबालक रहेको बताइएको छ।

प्राधिकरण स्रोतका अनुसार उक्त ट्वीनअटर विमान हालसालै खरिद गरिएको नयाँ थियो।

गौतमले भने, "विमान पनि नयाँ थियो, बिहान पोखरा र जोमसोम क्षेत्रमो मौसम पनि सफा थियो।"