विमानमा सवार सबैको मृत्यु: प्रहरी

  • 24 फेब्रुअरी 2016
तस्वीर कपीराइट taraair.com

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको एउटा विमान दुर्घटना हुँदा त्यसमा सवार कोही पनि जीवित नरहेको प्रहरीले जनाएको छ।

उद्धारमा खटिएका सुरक्षाकर्मीले अहिलेसम्म १८ जनाको शव संकलन गरिसकिएको र केही मृत यात्रुहरुको शव जलिरहेको जहाजको भग्नावशेषबाट निकाल्न अझै बाँकी रहेको बताएका हुन्।

उक्त विमान दुर्घटनाग्रस्त अवस्थामा म्याग्दीको दाना गाविसको तिर्खे डुङ्गा भन्ने स्थानमा डाँडाको टुप्पोमा फेला परेको अधिकारीहरुले बताएका छन्।

खराब मौसम र कठिन भौगोलिक अवस्थितिले खोजीकार्यलाई चुनौतीपूर्ण बनाएको उद्धारमा खटिएका स्थानीय प्रहरीको भनाइ छ।

अवस्था

दुर्घटनास्थलमा रहेका नेपाल प्रहरीका निरीक्षक लोकेन्द्र सिंह गुरुले भने, "विमानबाट निकालिएका १८ वटा शवहरु नराम्ररी जलेको छन्, पहिचान गर्न निक्कै अप्ठेरो छ। मौसम खराब हुँदा त्यहाँ उद्धारकार्यमा समस्या भइरहेको छ।"

उनले बाँकी शव खोज्न थप सुरक्षाकर्मी मद्दतका लागि आउन लागेको पनि जानकारी दिए।

बिहान ७ बजेर ५० मिनेटमा पोखरा विमानस्थलबाट उत्तरी जिल्ला मुस्ताङ्को जोमसोमका लागि उडेको उक्त विमान त्यसको केही समयपछि सम्पर्कविहीन भएको थियो।

३ जना चालक दलका सदस्य र २० जना यात्रुमध्ये दुई नाबालकसमेत रहेका थिए।

दुर्घटना

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बीबीसीलाई भने, “उक्त विमान दुर्घटनाग्रस्त अवस्थामा म्याग्दीको दाना गाविसको सोलीघोप्टे भिर नजिकै फेला परेको छ।”

नागरिक उड्ड्यन प्राधिकरणका अनुसार उडेको १० मिनेटपछि उक्त विमानको टावरसँग सम्पर्कविच्छेद भएको थियो।

उद्धार समन्वयका लागि एक टोली बनाई सम्पर्कविहीन विमानको खोजीका लागि कास्की, म्याग्दी, पर्वत र मुस्ताङ जिल्लामा पर्ने क्षेत्रहरुमा तीनवटा हेलिकोप्टर परिचालन गरिएको थियो।

प्राधिकरण स्रोतका अनुसार उक्त ट्वीनअटर विमान हालसालै खरिद गरिएको नयाँ थियो।

तारा एयरले उक्त विमानले ३०० घण्टा भन्दा कम उडान भरेको जनाएको छ।

गौतमले भने, "विमान पनि नयाँ थियो, बिहान पोखरा र जोमसोम क्षेत्रमो मौसम पनि सफा थियो।"