सिरियाली नगरमा विमानबाट सहायता सामाग्री

  • 25 फेब्रुअरी 2016
खाद्य सामाग्री तस्वीर कपीराइट AFP
Image caption विश्व खाद्य कार्यक्रमले पनि सिरियाका संकटग्रस्त क्षेत्रमा खाद्य सामाग्रीहरु पुर्याउन जोडतोडका साथ काम गरिरहेको छ।

संयुक्त राष्ट्रसंघले इस्लामिक स्टेट विद्रोहीको घेराबन्दीमा परेको सिरियाको एक पूर्वी शहरमा पहिलो पटक आकाशबाट सहायता सामाग्रीहरु खसालिएको बताएको छ।

राष्ट्रसंघको सहायता प्रमुखले सुरक्षा परिषदलाई देर-अल-जोउर नगरको सरकार नियन्त्रित क्षेत्रहरुमा विमानबाट २१ टन मानविय सहायता सामाग्रीहरु झारिएको जानकारी दिए।

उनका अनुसार ती सामाग्री लक्षित क्षेत्रमा सफलतापूर्वक पुगेको प्रारम्भिक संकेत मिलेको छ।

राष्ट्रसंघको सहायता प्रमुख स्टेफेन ओ-ब्रायनका अनुसार योजना अनुसार नै विमानबाट खसालिएका सामाग्री देर-अल-जोउरका लक्षित क्षेत्रमा पुगेको पुष्टि भएको छ।

'लक्षित क्षेत्र'

ओ-ब्रायनले राष्ट्रसंघीय सुरक्षा परिषद्लाई भने, "विश्व खाद्य संगठनको विमानले डेर अल जोरमा २१ टन सामाग्रीको पहिलो खेप झारेको छ। प्रभावित ठाउंमै रहेको सिरियाली अरब रेड क्रिसेन्टको टोलीबाट प्राप्त प्रारम्भिक सूचनाहरु अनुसार सहायता सामाग्री लक्षित क्षेत्रमै पुगेको छ।“

राष्ट्रसंघको भनाइमा देर-अल-जोउर नगरमा करिब दुई लाख गैरसैनिकहरु घेराबन्दीको अवस्थामा छन्।

हालैको एक प्रतिवेदन अनुसार ती क्षेत्रमा फसेका मानिसहरु एकदमै दयनीय अवस्थामा बाँचिरहेका छन्।

ती स्थानबाट गम्भीर कुपोषण र भोकमरीका कारण मानिसहरुको ज्यान गएका विवरणहरु आएको बताइन्छ।

गत साता ८० हजार मानिसहरुका निम्ति खानेकुरा र अन्य आधारभूत सामान बोकेका १०० वटा लरीहरु इस्लामिक स्टेटको घेराबन्दीमा परेका सिरियाका पाँच क्षेत्रमा पुगेका थिए।

मंगलबार थप दुई सवारीका लस्कर सरकार नियन्त्रित क्षेत्रहरुमा पठाइएको थियो।

बीबीसीका राष्ट्रसंघ संवाददाता निक ब्रायन्ट भन्छन् अत्यावश्यक सामाग्रीहरु विमानबाट झारेर सहायता पुर्याउनु अन्तिम उपाय हुन सक्छ, तर सामाग्रीहरु लरीहरुबाट पठाए त्यो अझै प्रभावकारी मानिन्छ।

बुधबार सिरियाको मुख्य विपक्षी छाता समुहले शनिबारबाट लागू हुने दुई साता लामो शर्त सहितको युद्धविरामलाई आफूले सम्मान गर्ने बताएको छ।

त्यस अघि सिरियाली सरकारले पनि अमेरिका र रुसको मध्यस्थता गरिन लागेको शत्रुता अन्त्य प्रयासको आफूले पनि पालना गर्ने बताएको थियो।