फिफा सुधारका नीति पारित

  • 26 फेब्रुअरी 2016
तस्वीर कपीराइट AFP
Image caption शुक्रबार अबेरसम्ममा फिफाले नयाँ अध्यक्ष पाउने अपेक्षा गरिएको छ।

फुटबलको विश्व प्रशासकीय निकाय फिफाले पारदर्शिता कायम गर्न र भ्रष्टाचार रोक्नका लागि प्रस्तुत सुधार नीति पारित गरेको छ।

नयाँ अध्यक्ष चयनका लागि निर्वाचन हुनु अघि पारित गरिएको उक्त नीतिले अध्यक्षको भूमिकालाई साँघुरो बनाएको छ भने सबै निर्वाचित सदस्यहरुको कार्यकालको सीमा तोकेको छ।

भ्रष्टाचारबाट थिलथिलो भएको फिफालाई त्यसबाट उठाउनका लागि ल्याइएको नयाँ सुधार नीति शुक्रबार पारित भएको हो।

उक्त योजना अनुसार अब फिफा अध्यक्षको कार्यकाल तेस्रो अवधिसम्मका लागि मात्रै हुनेछ।

मतदान प्रक्रिया

अब फिफा परिषदमा कम्तीमा ६ जना महिलाहरु निर्वाचित हुनुपर्नेछ।

फिफाको नयाँ परिषदले अहिलेको कार्यकारी समितिलाई विस्थापित गर्नेछ, जहाँ सबै क्षेत्रीय संघहरुबाट एक, एकजना महिला प्रतिनिधि रहनेछन्।

स्वीटजरल्याण्डमा भेला भएका प्रतिनिधिहरुले नयाँ अध्यक्षका लागि मतदानको प्रक्रिया सुरु गरेका छन्।

दक्षिण अफ्रिकाका टोकियो शेखवालेले आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि अब अध्यक्ष पदका लागि चारजना प्रतिस्पर्धामा छन्।

प्रतिस्पर्धी मध्ये एसियाली फुटबल संघका शेख सलमान र युरोपेली फुटबल संघका जानी इन्फान्टिनो बलिया देखिएका छन्।

भ्रष्टाचारको व्यापक आलोचनाका माझ शेप ब्लाटरले केही महिना अघि फिफाको अध्यक्ष पदबाट राजीनामा दिएका थिए।