कालिकोट दुर्घटनामा दुई पाइलटको निधन

  • 26 फेब्रुअरी 2016
तस्वीर कपीराइट air kasthamandap
Image caption बुधबार मात्रै म्याग्दीमा तारा एयरको विमान दुर्घटना हुँदा २३ जनाको ज्यान गएको थियो

दुर्गम पहाडी जिल्लामा उडान गर्ने काष्ठमण्डप एयरलाईन्सको विमान शुक्रबार कालिकोटमा दुर्घटनाग्रस्त हुँदा दुई जना पाइलटको ज्यान गएको छ।

म्याग्दी जिल्लामा तारा एयरलाईन्सको विमान दुर्घटनामा २३ जनाको ज्यान गएको २ दिनपछि अर्को हवाई दुर्घटना भएको हो।

नेपालगञ्जबाट जुम्ला जाँदै गरेको काष्ठमण्डप एयरलाईन्सको विमानमा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरण गराउन खोजिएको अधिकारीहरुले जनाएका छन्।

त्यसक्रममा दुई पाइलटको ज्यान गएको र केही यात्रु घाइते भएको बताइएको छ।

दुर्घटना

कालिकोटको चिलखाया गाउँमा आपत्कालीन अवतरणको क्रममा उक्त दुर्घटना भएको स्थानीय प्रमुख जिल्ला अधिकारी प्रदीप श्रेष्ठले जनाए।

उनले भने, "घटनास्थलमा प्रहरीहरु पुगिसकेका छन्। दुर्घटनामा परी दुईजना विमान चालकको मृत्यु भएको र बाँकी ९ जनाको उपचार त्यहाँका स्थानीय स्वास्थ्यकर्मीले गरिरहेका छन्।"

विमानमा पाइलटबाहेक अरु ९ यात्रु रहेको उनले बताए।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको र र अरु यात्रुको अवस्था सामान्य रहेको घटनास्थलमा रहेका स्थानीय वासिन्दा गगन विकले बताए।

उद्धारका लागि मुगुबाट हेलिकप्टर घटनास्थलमा पुगिसके बताइएको छ।

दुर्घटनास्थल कालिकोट सदरमुकामबाट डेढघण्टा पैदल दुरीमा पर्छ।