भारतबाट '७० प्रतिशत' मात्र तेल आपूर्ति

  • 28 फेब्रुअरी 2016
तस्वीर कपीराइट Getty
Image caption आईओसीले नेपालको मागको सत्तरी प्रतिशत मात्र पेट्रोलियम पदार्थ उपलब्ध गराइरहेको छ

प्रधानमन्त्री के पी ओली भारतको राजकीय भ्रमणमा जाने भनेदेखि नै सर्वसाधारणले पेट्रोलियम पदार्थ सहज हुने अपेक्षा राखेको भएपनि अहिलेसम्म त्यसको आपूर्तिमा देखिएको अडचन पूर्ण रुपमा हट्न सकेको छैन।

पेट्रोलियम पदार्थ आयात गर्ने मुख्य बीरगञ्ज-रक्सौल नाकाबाट भारतीय आयल निगम आईओसीले नेपालको मागको ७० प्रतिशत मात्र तेल लोड दिने गरेको नेपाल आयल निगमका अधिकारीहरुले बताएका छन्।

नेपालीले गत असोजको शुरुदेखि नै पेट्रोलियमको तीब्र अभाव झेल्दै आइरहेका छन्।

बीरगञ्ज-रक्सौल नाका खुला भएको तीन साता पुगिसक्यो तर आईओसीले नाका बन्द हुनु अघिको तेलको मात्रा अझै दिएको छैन।

कारण खुलेन

पहिले नेपालको तराई क्षेत्रमा रहेको आन्दोलनलाई निहुँ बनाएको भारतले अहिले नेपाल आयल निगमलाई पुरा तेल नदिनुको कारण खुलाएको छैन।

निगमका प्रवक्ता मुकुन्द घिमिरे भन्छन्, "आईओसीसँग दैनिक छलफल हुन्छ हामी मिलाउँदैछौँ भन्छ, कारण यहि हो भन्न सकेको छैन। तर लोड दिन आनाकानी गरिररहेको छ। हाम्रा एमडी कुराकानी गर्न दिल्ली जानुभएको छ, पर्सी आउनुहुन्छ, त्यसपछि मात्र के भएको हो थाहा हुन सक्छ।"

पेट्रोलियमका लागि पूर्ण रुपमा भारतप्रति आश्रित नेपालले अहिले मागको ७० प्रतिशत मात्र पाउने गरेको छ।

प्रवक्ता घिमिरेका अनुसार नेपालभर दैनिक ४५ लाख किलोलिटर तेल आवश्यक पर्छ तर अहिले दैनिक ३२/३३ लाख लिटर लोड भइरहेको छ।

एलपी ग्यास

त्यसैगरी खाना पकाउने एलपी ग्यास भर्ने मुख्य स्थल बरौनीबाट एक हप्ता भयो एक बुलेट ग्यास पाइएको छैन।

प्रवक्ता घिमिरे भन्छन्, "बरौनीबाट लोड भएको छैन गत मंगलबारदेखि नै भोलिबाट दिन्छु भनेका छन्। मथुरा र हल्दियाबाट दैनिक २० बुलेट लोड भइरहेको छ।"

चाखलाग्दो कुराचाहिँ के भने केहि अघि भारतबाट आपूर्ति ठप्पप्राय: भएपछि चीनसँग व्यापार साझेदारीको हात बढाएको नेपालले उत्तरतिरबाट नेपालको मागको कम्तीमा एक तिहाई तेल ल्याउने गरी सम्झौता गर्ने चर्चा चलेको थियो।

आपूर्ति मन्त्री गणेशमान पुनले आइतबार पूर्वी नेपालको झापामा बाँकी ३०/४० प्रतिशत उत्तरी छिमेकी चीनबाट ल्याउने भनाई दोहोर्याएका छन्।

चीनसँग सम्झौता

मन्त्री पुन भन्छन्, "चीनबाट राष्ट्रिय मागको ३० ४० प्रतिशत लिनेगरी सम्झौता हुन्छ। सम्झौताको लागि अन्तिम विन्दुमा पुगेको छ।"

काठमाण्डूस्थित बीबीसी संवाददाता भन्छिन्, "चीनबाट आयात गर्ने भनिएको अंश बराबर भारतले अहिले पेट्रोलियम कटौती गर्नुलाई कतिले अर्थपूर्ण ठानेका छन्।"