कलाईको आश्रयस्थल भत्काइँदै

  • 1 मार्च 2016
तस्वीर कपीराइट AFP
Image caption सडकमा उत्रेका १५० आप्रवासीलाई प्रहरीले लखेट्दै शिविरमा फर्काएको थियो

फ्रेन्च बन्दरगाह कलाईको जंगल नामले चिनिएको एउटा शिविरमा आप्रवासीहरुको अस्थायी आश्रयस्थल भत्काउन थालिएको छ।

त्यस्तै ग्रीस र म्यासेडोनियाको सीमानामा १५ सय क्षमता भएको आप्रवासी शिविरमा ७ हजार जना फँसिरहेका छन्।

पश्चिम युरोपतर्फ जान ईच्छुक आप्रवासीहरुले विरोध गरेपछि ग्रीस र म्यासेडोनियाको सीमाना स्थित ईडवमेनी नाका २४ घंटा देखि बन्द छ।

स्वास्थ्य समस्या

ग्रीसमा रहेको शिविर वरिपरी सयौं पालहरु खडा गरिएका छन् र प्रायः पालमा क्षमता भन्दा आप्रवासी बसिरहेका छन्।

भर्खरै पानी परेका कारण शिविरको अवस्था अझ बिग्रिएको छ, र धेरैजनालाई स्वास्थ्यमा समस्या देखा परेको छ।

तर पनि पालोमा आफु पछाडि पर्ने डरले आप्रवासीहरु शिविर छोडेर अन्त जान तयार छैनन्।

नाका बन्द भएको निकै समय भईसकेतापनि सिरिया र अन्य राष्ट्रबाट सीमानामा आप्रवासीहरु आईरहेका छन्।

एकपछि अर्को राष्ट्रले आप्रवासीको लागी आफ्नो सीमाना बन्द गर्ने क्रम विगत केही महिना देखि जारी छ।

चेतावनी

फ्रान्समा प्रहरीले जंगल नामक आप्रवासी शिविर भत्काउन थालेका छन र नजिकै राखिएका ढुवानी कन्टेनरमा सर्न नमानेमा बल प्रयोग गर्ने चेतावनी दिएका छन्।

शिविर खाली गर्दा १००० शरणार्थी प्रभावित हुने फ्रान्सले बताएको छ भने सहायता संस्थाहरुले त्यो संख्या अझ ठुलो रहेको भनिरहेका छन्।

सोमबार १०० आश्रयस्थल भत्काईएका थिए भने कम्तिमा १२ लाई आगो लगाईएको थियो।

शिविर भत्काउने टोलीलाई ढुंगा हान्ने आप्रवासीमाथि प्रहरीले रातभर अश्रु ग्यास प्रयोग गरेको थियो।

केही आप्रवासीहरु राती अँध्यारोको सहायता लिंदै लरीहरुमा चढ्ने प्रयास गरिरहेका थिए।

सडकमा उत्रेका १५० आप्रवासीलाई प्रहरीले लखेट्दै शिविरमा फर्काएको थियो।