पौडेल, देउवा र सिटौला अघि सर्दै

  • 1 मार्च 2016
Image caption रामचन्द्र पौडेललाई कृष्णप्रसाद सिटौलाको आकांक्षाले अप्ठेरो पारेको ठानिन्छ

नेपाली कांग्रेसको भावी नेतृत्वको निम्ति रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाले आआफ्नो खेमाको महामन्त्री सहित औपचारिक रुपमा बुधबार उम्मेदवारी घोषणा गर्ने अन्तिम तयारी गरिरहेका छन्।

संस्थापन पक्ष भनिने खेमाबाट साझा उम्मेदवारी दिनका निम्ति भएको लामो कसरत सार्थक हुन नसकेपछि चुनावी मैदानमा तीनवटा खेमाबीच प्रतिष्पर्धा हुने सम्भावना बढेको हो।

तर सहमतिको सम्भावना पूर्ण रुपमा समाप्त नभइसकेको भन्दै नेताहरुले अन्तिम समयसम्म पनि त्यसको निम्ति प्रयास गरिने बताएका छन्।

आन्तरिक असमझदारी

कृष्णप्रसाद भट्टराईपछि गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नेतृत्वमा पार्टी हाँकेको संस्थापन भनिने खेमा भावी नेतृत्वलाई लिएर केही दशकयता पहिलो पटक तीव्र आन्तरिक असमझदारीमा फस्न पुगेको देखिएको छ।

त्यसकै परिणाम हुनसक्छ, सम्भावित उम्मेदवार ठानिएका नेताहरुले पदाधिकारीमा आफ्नो समूह घोषणा गरेका छैनन्।

तर बुधबार औपचारिक रुपमा त्यसको घोषणा गर्ने तयारी भइरहेको डा रामशरण महत बताउँछन्।

“शायद रामचन्द्र पौडेलले सभापतिमा बुधबार उम्मेदवारी घोषणा गर्नुहुन्छ। त्यस्तै शशांक कोइरालाले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने तयारी छ,” महतले बताए।

संस्थापन पक्षमा भने भावी नेतृत्वकोनिम्ति आकांक्षी महामन्त्री कृष्णप्रसाद सिटौला पछि हट्न नमानेकाले संस्थापनलाई आफ्नो समूह घोषणा गर्न अप्ठेरो परेको ठानिएको छ।

अग्राख

मंगलबारको रात कुनै अग्राख पलाएनछ भने सिटौलाले सभापति र युवा नेता गगन थापाले महामन्त्रीमा बुधबार उम्मेदवारी घोषणा गर्ने तयारी रहेको बताइएको छ।

तर उनीहरुको उम्मेदवारी संस्थापनलाई अप्ठेरो पार्ने अनुमान अस्वीकार गर्दै डा महतले भने, “अप्ठेरो पार्ने कुनै सम्भावना मैले देखेको छैन। सबैलाई लड्ने स्वतन्त्रता छ।”

संस्थापन पक्षको परम्परागत प्रतिद्वन्द्वी खेमाको नेतृत्व शेरबहादुर देउवाले गरेका छन्।

संस्थापन पक्षले समूह घोषणा गरेपछि देउवा समूहले पनि पदाधिकारी सहितको आफ्नो चुनावी गठबन्धन सार्वजनिक गर्ने बताइएको छ।

तर विगतमा पार्टी विभाजनको आरोप खेप्ने गरेको उक्त खेमा सहमतिको निम्ति आफु अन्तिम समयसम्म खुला रहेको सन्देश दिन खोजेको देखिन्छ।

उक्त खेमाका एकजना नेता एनपी साउद भन्छन्, “हामीमाझ केही खास विवाद छैनन्। तर पार्टीभित्र एकताको सन्देश जाओस् भन्ने सम्भावनालाई अन्तिम सम्म प्रयोग गर्न सकियोस् भनेर केही ढिलाई गरिएको हो।”

देउवा समूहमा कोषाध्यक्षका निम्ति आन्तरिक प्रतिष्पर्धा रहेको बताइन्छ।

तर महामन्त्रीमा भने मंगलबार उम्मेदवारी घोषणा गरेका अर्जुन नरसिंह केसी देउवा समूहमा रहने बताइएको छ। उनी पनि विगतमा संस्थापन पक्षकै नेता थिए।