प्रमको चीन भ्रमणःइन्धन सम्झौता प्राथमिकतामा

  • 2 मार्च 2016
तस्वीर कपीराइट Reuters

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा इन्धन आपूर्ति, द्वीपक्षीय व्यापार र थप नाका खुलाउने लगायतका एजेण्डामा छलफल हुने अधिकारीहरुले बताएका छन्।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा चीन गएको उच्चस्तरीय टोलीले यसअघि छलफल गरेकै विषयमा केन्द्रित भई एजेण्डा तय गर्न लागिएको बताइएको छ।

अधिकारीहरुका अनुसार चैत महिनाको पहिलो साता हुने गरी प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी थालिएको छ।

भारत भ्रमण सकिए लगत्तै चीन जाने बताउँदै आएका प्रधानमन्त्री ओलीको चीन भ्रमणको मिति नै त तोकिएको छैन।

गृहकार्य

तर प्रधानमन्त्री कार्यालयले चैत्रको पहिलो हप्ताभित्र हुने गरी गृहकार्य शुरु गरिएको बताएको छ।

सोही अनुरुप भ्रमणमा दुई देशबीच हुन सक्ने सम्झौता र उठाउनुपर्ने विषयहरुबारे छलफल थालिएको बताइएको छ।

केही महिना पहिले उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापासहितको टोलीले चीन भ्रमणका बेला चिनियाँ पक्षसँग छलफल गरेकै विषयहरुमै एजेण्डा केन्द्रित हुने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए।

उनले भने, “इन्धन आपूर्ति, पारवहन सन्धि, स्वतन्त्र व्यापार, दुई पक्षीय लगानी सुरक्षाका अतिरिक्त भौतिक संरचनामा नाका खोल्ने, सडक निर्माण, प्रसारणलाइन र रेल्वेको सम्भाव्यता अध्ययन गर्ने विषयमा छलफल भएको छ।”

यसको अन्तिम रुप दिने काममा परराष्ट्र मन्त्रालय लागि रहेको बताइएको छ।

सम्झौता

परराष्ट्र मन्त्रालयको चीन मामिला हेर्ने डेस्कका प्रमुख सह-सचिव झवीन्द्र अर्यालले भने, “गृहकार्य शुरु भएको छ, विभिन्न मन्त्रायहरुबाट सल्लाह सुझाव माग गरिएको छ, लगातार हाम्रा बैठकहरु छन्, उच्चस्तरमा छलफल गरेर तय गर्नेछौँ।”

तस्वीर कपीराइट rawjendra kc

गत वैशाखमा गएको भूकम्पपछि अवरुद्ध रहेको चीनसँगको मुख्य नाका तातोपानी नाका खुलाउने विषयमा पनि भ्रमणका क्रममा छलफल गर्ने तयारी रहेको अधिकारीहरुले बताएका छन्।

भारतसँगको नाकामा लामो समयसम्म रहेको अवरोध हटेपनि पेट्रोलियम पदार्थको आपूर्ति सहज हुन नसकेपछि धेरैको ध्यान प्रधानमन्त्रीको चीन भ्रमणतिर तानिएको छ।

नेपालले आवश्यकताको एक तिहाईसम्म पेट्रोलियम पदार्थ चीनबाट खरिद गर्नेगरी प्रस्ताव पठाइसकेको छ।

चीन भ्रमणबाट फर्किए लगत्तै परराष्ट्रमन्त्री थापाले उक्त विषयमा प्रधानमन्त्रीको भ्रमणका बेला सम्झौता हुने बताएका थिए।