शेरबहादुर देउवाद्वारा उम्मेदवारी घोषणा

  • 3 मार्च 2016

नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले पार्टी सभापति पदमा उठ्ने औपचारिक घोषणा गरेका छन्।

ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममाझ देउवा समूहबाट उठ्ने अन्य उम्मेदवारहरुको नाम समेत घोषणा गरिएको छ।

जसअनुसार महामन्त्रीका लागि अर्जुन नरसिहं केसी र कोषाध्यक्ष पदका लागि चित्रलेखा यादव चुनावी प्रतिस्पर्धामा उत्रिनेछन्।

देउवा समूहको औपचारिक घोषणा कार्यक्रममा केबी गुरुङ, प्रदीप गिरी, खुमबहादुर खड्का, लक्ष्मण घिमिरे, तारानाथ रानाभाट लगायतका नेताहरु पनि पुगेका थिए।

यसअघि बुधबार कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेल र सुजाता कोइरालाले बुधबार सभापति पदका लागि छुट्टाछुट्टै उम्मेदवारीको घोषणा गरेका थिए।

तर सुजाता कोइरालाले बिहीबार उम्मेदवारी फिर्ता लिएर रामचन्द्र पौडेललाई समर्थन गर्ने घोषणा गरेकी छन्।

नेपाली कांग्रेसको १३ महाधिवेशनले आगामी पाँच वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ।

पार्टी एकता

कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले छुट्टै समूह बनाएर चुनावमा उत्रिएका पक्षलाई पनि समेटेर पार्टीलाई एक बनाएर अघि बढ्ने बताए।

महामन्त्री पदका उम्मेदवार अर्जुननरसिंह केसीले पौडेल पक्षका महामन्त्री उम्मेदवार एवम् बीपी पुत्र शशांक कोइरालाप्रति लक्षित गर्दै विरासतबाट नभइ वीरता , पराक्रम र क्षमताका आधारमा पार्टी चल्ने टिप्पणी गरे।

घोषणा कार्यक्रममा पार्टीका नेता केबी गुरुंगले देउवालाई सभापतिको उम्मेदवारका रुपमा प्रस्ताव गरेका थिए भने नेता खुमबहादुर खड्काले समर्थन गरेका थिए।