ब्रजिलका पूर्व राष्ट्रपति गिरफ्तार

  • 4 मार्च 2016
तस्वीर कपीराइट AFP
Image caption अपरेसन कार वाशको नामले चिनिएको यो अनुसन्धान लामो समयदेखि चलिरहेको थियो

ब्रजिलका पूर्व राष्ट्रपति लुईस इनास्यु लुला डा सिल्भा खनिज तेलको सरकारी कम्पनी पेट्रोब्रासमा भ्रष्ट्राचारबारे चलिरहेको बृहत् अनुसन्धानको सिलसिलामा पक्राउ गरेका छन्।

प्रहरीले उनको घरमा छापा मारेको थियो र उनलाई सोधपूछका लागि लगिएको छ।

सन् २०११ सम्म राष्ट्रपति रहेका लुलाले भ्रष्टाचारका आरोपहरु अस्वीकार गरेका छन्।

करार गर्दा पेट्रोब्रासलाई धेरै पैसा तिर्न लगाएको र सो रकम घुस दिन एवम् चुनाव प्रचार गर्नमा खर्च गरेको आशंकामा कैयौं सरकारी अधिकारी र राजनीतिज्ञहरुलाई गिरफ्तार गरिएको छ।

जिम्मेवार

यो योजनाबाट पूर्व राष्ट्रपति लुलाले पनि फादादा उठाएको प्रमाण आफूसँग भएको प्रहरीले बताएको छ।

रोयटर्स समाचार संस्थाले प्रहरीको विज्ञप्तिलाई उद्धृत गर्दै भनेको छ- पार्टीका प्रमुख भएको हुनाले पूर्व राष्ट्रपति लुला प्रमुख जिम्मेवार हुन्।

पेट्रोब्रासका निर्देशकको नियुक्तिमा उनको हात रहेको र त्यहाँ भएका अपराधबाट मुख्य रुपमा फाइदा लिने पनि उनै भएको समेत प्रहरीले बताएको छ।

उनको घरमा छापा मारिएपछि घरबाहिर उनका समर्थक र विरोधीहरुबीच झडप भएको थियो।