संविधान कार्यान्वयनको नेतृत्व लिने अठोट

  • 5 मार्च 2016
तस्वीर कपीराइट .
Image caption तराई मधेसका सिमाङ्कन लगायतका कतिपय विषयहरूलाई सम्बोधन गर्न संविधानमा आवश्यक संशोधन समेत गरी परिमार्जन गर्ने नीति नेपाली कांग्रेसले लिने छ

संविधान कार्यान्वयनको नेतृत्व लिने कांग्रेसको लक्ष्यनीति तथा कार्यक्रममा लेखिएको छ, “सत्तामा रहे पनि नरहे पनि यो ऐतिहासिक जिम्मेवारी निर्वाह गर्न नेपाली कांग्रेस कृतसंकल्पित छ।”

नेपाली कांग्रेसको काठमाण्डूमा जारी महाधिवेशनले संविधान कार्यान्वयनको नेतृत्व आफूले लिने लक्ष्य लिएको राजनीतिक दस्तावेज पारित गरेको छ।

महाधिवेशनको बन्द सत्रले पारित गरेको नीति तथा कार्यक्रममा कांग्रेसले संविधान कार्यान्वयनको नेतृत्व आफूले लिनु पर्ने अपरिहार्य आवश्यकता देखेको छ।

जसमा भनिएको छ, “वर्तमान राष्ट्रिय राजनीतिको शक्ति संरचनालाई हेर्दा नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक समाजवादको दर्शनबाट प्रेरित पार्टीले यसको कार्यान्वयनको नेतृत्व लिनुपर्ने हुन्छ।”

दस्तावेज परिमार्जन सहित पारित भएको बताउँदै प्रचार विभाग प्रमुख मिनेन्द्र रिजालले भने, “मूल रुपमा नीति तथा कार्यक्रमलाई स्वीकार्दै यसलाई अझ् तिखार्ने सुझाव साथीहरुले दिनु भएको छ।”

उद्देश्य

कांग्रेसले ‘संङ्घीय प्रदेशको सिमाङ्कन, नामाङ्कन, प्रशासनिक व्यवस्थापन………र त्यस्ता जटिल प्रावधानको कार्यान्वयन’ आफ्नो नेतृत्वबिना असम्भव ठानेको छ।

त्यसको अर्थ कांग्रेसले सरकारको नेतृत्व पनि ताकेको हो?

नीति तथा कार्यक्रममा लेखिएको छ, “सत्तामा रहे पनि नरहे पनि यो ऐतिहासिक जिम्मेवारी निर्वाह गर्न नेपाली कांग्रेस कृतसंकल्पित छ।”

तर कतिपय सत्तापक्षीय नेताहरुले नै सरकार परिवर्तनको सम्भावना दर्शाउन थालेका छन्।

कांग्रेसको बन्द सत्रमा पनि वर्तमान सरकारको विकल्पबारे कुरा उठ्यो?

केन्द्रीय सदस्य प्रकाशशरण महतले भने, “सरकारको बारेमा पनि कुरा उठ्यो, राष्ट्रिय राजनीति र विपक्षमा हाम्रो प्रभावकारी भूमिका हुनु पर्यो भन्ने लगायतका विषयाम विभिन्न कोणबारे कुरा उठेका थिए।”

संविधान संशोधन

नयाँ नेतृत्व चयनको संघारमा रहेको कांग्रेसले प्रदेश सिमाङ्कन लगायतका कतिपय विषय सम्बोधन गर्न संविधान संशोधन गर्ने नीति समेत अंगिकार गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

नयाँ संविधान जारी भएपछि तराई मधेसका मुद्दा संविधान संशोधन गरेर केही हदसम्म सम्बोधन भएको ठहर गरेको कांग्रेसको उक्त दस्तावेजमा भनिएको छ, “तराई मधेसका सिमाङ्कन लगायतका कतिपय विषयहरूलाई सम्बोधन गर्न संविधानमा आवश्यक संशोधन समेत गरी परिमार्जन गर्ने नीति नेपाली कांग्रेसले लिने छ।”

तराई केन्द्रित दलहरुले उठाउने गरेका ती विषय तराईबाट आएका कांग्रेसका प्रतिनिधिले पनि महाधिवेशनमा उठाएको बताइएको छ।

मतदान

कांग्रेसको जारी महाधिवेशनमा ६४ वटा पदका निम्ति उम्मेदवारी दिएका ३७५ जनामध्ये ६३ जनाले शनिवार उम्मेदवारी फिर्ता लिएका छन्।

तर पदाधिकारीका उम्मेदवार कसैले पनि फिर्ता लिएनन्।

पदाधिकारी सहितको तीनवटा समूह चुनावी मैदानमा छ।

नयाँ नेतृत्वको निम्ति आइतवार मतदान हुँदैछ।