टर्कीकै ठूलो पत्रिका सरकारी नियन्त्रणमा

  • 5 मार्च 2016
तस्वीर कपीराइट AFP

टर्कीको सबैभन्दा ठूलो पत्रिका जमानको इस्तानबुलस्थित मुख्यालयमा प्रवेश गर्ने क्रममा प्रदर्शनकारीहरुको भीडलाई हटाउन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ।

सरकारले सम्पादकीय नियन्त्रणमा लिएपछि प्रहरीले उक्त पत्रिकाको कार्यालयमाथि छापा मारेको हो।

प्रदर्शनकारीमाथि अश्रु ग्यास प्रहार गर्दै शुक्रबार प्रहरीहरु उक्त पत्रिकाको कार्यालयमा प्रवेश गरेका थिए।

जमान पत्रिका अमेरिकामा बस्दै आएका मुस्लिम धर्मगुरु फेतुल्लाह गुलेनले चलाएको जिहमेत अभियानसँग निकट रहेको मानिन्छ।

धरपकड

गुलेनका समर्थकहरुमाथि धरपकड गर्ने एउटा हिस्साको रुपमा पछिल्लो सरकारी कदमलाई हेरिएको छ।

टर्कीले हिज्मेतलाई एउटा आतंकवादी समूहको रुपमा हेर्दै आएको छ जुन समूहको उद्देश्य राष्ट्रपति रिजिप तय्यीप एर्डोआनलाई सत्ताच्यूत गर्नु रहेको सरकारको आरोप छ।

कुनैबेला गुलेन एर्डोआनका सहयोगी थिए तर पछि उनीहरु एकअर्कासँग टाढिए।

तस्वीर कपीराइट epa

पत्रकारहरुप्रति टर्कीले अपनाएको रवैयाको अन्तर्राष्ट्रियस्तरमा आलोचना भइरहेको छ।

‘कालो अवधि’

अमेरिकी विदेश मन्त्रालयका एकजना प्रवक्ताले उक्त नियन्त्रणलाई सरकारको आलोचना गर्ने सञ्चारमाध्यममाथि टर्की सरकारले चालेको तनावपूर्ण न्यायिक र कानुनी कदमको एउटा श्रृंखला भएको बताएका छन्।

उक्त पत्रिकाका प्रधान सम्पादक अब्दुलहामित बिलिसाइले सम्पादकीय नियन्त्रणलाई मुलुक र लोकतन्त्रका लागि कालो दिनको संज्ञा दिएका छन्।

उनले भने, “दुर्भाग्यवश पछिल्लो तीनचार वर्षमा यो नियमित जस्तै भएको छ कि सरकारी नीतिविरुद्ध बोल्ने जोकोहीले कि त मुद्दा खेपिरहेका छन्, जेल परिरहेका छन् वा पछिल्लो नियन्त्रण जस्तै कदम भोगिरहेका छन्।”

शुक्रबार आदेश सुनाउँदै एउटा अदालतले जमानलाई नियन्त्रणमा लिन सरकारी अधिकारीहरुलाई आदेश दिएको थियो तर टर्कीमै सबैभन्दा बढी विक्री हुने उक्त पत्रिकामाथि नियन्त्रण गर्नुको कारण अदालतले खुलाएको छैन।