आप्रवासीहरुको भीड रोक्न पहल तीव्र

  • 7 मार्च 2016
तस्वीर कपीराइट AFP

युरोप प्रवेश गर्ने आप्रवासीहरुको भीडलाई कम गर्ने प्रयासहरु तीव्र हुँदै गर्दा टर्की र युरोपेली संघका नेताहरु दोस्रो विश्व युद्धपछिकै ठूलो मानिएको शरणार्थी समस्याको समाधानका उपायबारे छलफल गर्न ब्रसेल्समा एउटा आपतकालीन सम्मेलनमा सहभागी हुँदैछन्।

इयुले टर्कीलाई आप्रवासीहरुको भीडलाई रोक्न र तिनीहरुलाई बसोबासको प्रबन्ध मिलाउन ३ अर्ब युरो सहयोग दिने प्रतिबद्धता जनाएको छ।

गतवर्ष १० लाखभन्दा बढी आप्रवासीहरु डुंगाबाट यात्रा गर्दै टर्कीबाट ग्रीस हुँदै गैरकानुनी रुपमा इयु प्रवेश गरेका थिए।

अहिले आएर इयु देशहरुले प्रतिबन्धहरु लगाएकाले करिब १३ हजार आप्रवासीहरु म्यासेडोनिया र ग्रीसको सीमामा अलपत्र परिरहेका छन्।

निगरानी

तस्वीर कपीराइट AFP

अब उत्तर एटलान्टिक सन्धि संगठन नेटोले इयुको सीमासम्बन्धी निकाय फ्रोन्टेक्स्सँग सहकार्य गरेर आफ्नो जलक्षेत्र निगरानी कार्यक्रममा ध्यान केन्द्रित गर्ने भएको छ।

युरोप पुग्ने आप्रवासीहरुको प्रवाह रोक्ने प्रयासले गति लिइरहेको छ।

जसअनुसार उसले टर्की र ग्रीसका जलक्षेत्रलाई समेट्ने गरी एइजियन सागरमा मानव तस्करीलाई नियन्त्रण गर्ने भनिएको छ।

नेटोका महासचिव येन्स स्टोलटेन्बेर्गले ग्रीस र टर्कीको सीमाक्षेत्रमा थप पानी जहाजहरु परिचालन गर्न लागिएको बताएका छन्।

भूमिका

तस्वीर कपीराइट Getty

बीबीसीका रिस्टो पाइक्को भन्छन्, नेटोका जहाजहरु पहिल्यैदेखि त्यहाँ छन् तर सूचनामात्र संकलन गर्दै आएका थिए, अब नेटोले मानवतस्करी रोक्ने उद्देश्यले टर्की र ग्रीसलाई सहयोग गर्न थप सक्रिय भूमिका खेल्नेछ।

सिरिया र इराकका द्वन्द्वग्रस्त क्षेत्रहरुबाट आप्रवासीहरु जोखिमपूर्ण जलयात्रा गर्दै टर्कीबाट ग्रीसका टापुहरुमा पुग्ने गरेका छन्।

आइतबार आप्रबासी बोकेको एउटा डुंगा टर्कीको सीमाबाहिर पल्टिदा २५ जनाको ज्यान गएको थियो।

ब्रसेल्समा इयुका २८ सदस्य राष्ट्रहरुले आप्रवासनका लागि अयोग्य मानिने हजारौं आप्रवासीहरुको व्यवस्थान गर्न टर्कीलाई आग्रह गर्ने अपेक्षा गरिएको छ।