आप्रवासी संकटबारे युरोपेली आयोगको सम्मेलन सुरु

  • 7 मार्च 2016
तस्वीर कपीराइट AFP
Image caption धेरै शरणार्थीहरु उत्तरी युरोप जाने लक्ष्य लिएर ग्रीसबाट निस्कने गर्दछन्

आप्रवासी संकटबारे युरोपेली आयोगको महत्वपूर्ण शिखर सम्मेलन शुरु भएको छ, तर बाल्कन क्षेत्रको मुख्य आप्रवासी मार्गलाई बन्द गर्ने बारेमा मतभेद देखिईसकेको छ।

एउटा विज्ञप्तिको मस्यौदामा युरोपली संघले त्यो बाटो बन्द भएको घोषणा गर्न लागेको थियो, तर जर्मन सरकारले त्यसलाई अस्वीकार गर्यो।

यो सम्मेलनमा टर्की पनि उपस्थित हुनेछ, टर्कीले दोश्रो विश्वयुद्ध यताको सबैभन्दा ठुलो शरणार्थी संकटको सामना गरिरहेको छ।

दबाब

ईयुले टर्कीलाई ३.३ अर्ब डलरको बदलामा शरणका लागि अयोग्य आप्रवासीलाई फिर्ता लिन दबाब दिने छ।

बदलामा ईयुले अहिले टर्कीमा भएका केही शरणार्थीलाई युरोपमा बसोबास गराउने योजनाबारे वार्ता गर्ने छ।

गत वर्ष १० लाख भन्दा धेरैजना डुंगाबाट गैरकानुनी रुपमा युरोप छिरेका थिए, र ती मध्ये धेरैजसो टर्की हुँदै ग्रीस पुगेका थिए।

यो सम्मेलनमा २६ देशमा राहदानी रहित यात्रा गर्न दिने शेंगेन सम्झौताबारे पनि वार्ता गर्ने योजना रहेको छ।

उत्तरी युरोपका ८ देशले अस्थायी सिमाना नियन्त्रण शुरु गरेका छन्।

तर युरोपको अर्थतन्त्रमा अर्बौं युरो भित्र्याउने ठानिएको शेंगेन प्रणाली जोगाउन ईयुका नेताहरु ईच्छुक छन्।

कोशिश

तर क्रोएशिया, हंगेरी र स्लोभेनियाको समर्थन पाएको म्यासेडोनियाले प्रायः शरणार्थीका लागी आफ्नो सिमाना बन्द गरेपछि ग्रीसमा करीब १३ हजार शरणार्थी फँसिरहेका छन्।

सम्मेलनको बिहानैको भागमा टर्की संलग्न हुनेछ भने दिउँसो युरोपेली संघका नेताले आप्रवासी संकटलाई सम्बोधन गर्ने साझा धारणामा पुग्ने कोशिश गर्नेछन्।

सम्मेलनका लागि आईपुग्दै जर्मन चान्सलर एंगेला मर्केलले गाह्रो निर्णय लिनुपर्ने अपेक्षा गरेको बताईन्।

ब्रिटेनका प्रधानमन्त्री डेभिड क्यामरनले भने शरणको साझा युरोपेली प्रक्रियामा ब्रिटेन संलग्न हुने सम्भावना नरहेको बताए।

आईतबार टर्कीको तट नजिकै एउटा डुंगा पल्टेर २५ जनाको मृत्यु भएपछि आप्रवासी संकटको मानवीय क्षति फेरी प्रष्ट भएको छ।