नेपाली कांग्रेसमा मत परिणामबारे विवाद

  • 7 मार्च 2016
तस्वीर कपीराइट .

नेतृत्व चयनका निम्ति सम्पन्न मतदानपछि नेपाली कांग्रेसको सभापति पदका लागि भएको मतगणनाका क्रममा विवाद उत्पन्न हुँदा आधिकारिक परिणाम घोषणा हुन ढिलाई भएको छ।

निर्वाचन समितिका अनुसरा आवश्यक बहुमत पुग्न थोरैमात्र मतको अन्तर देखिएकाले छलफलमार्फत अन्तिम टुङगो लगाइने छ।

मत गणनामा बसेका प्रतिनिधिहरुले नेता शेरबहादुर देउवाले बहुमतका लागि आवश्यक रहेको भन्दा ११ मत कम प्राप्त गरेको बताएका थिए।

बहुमत नपुगे धेरै मत ल्याउने २ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ।

मतगणना

सभापति पदका लागि गएराति २ बजेदेखि मतगणना थालिएको थियो।

शुरुदेखिनै अन्य प्रतिस्पर्धीलाई उछिन्दै अगाडि देखिरहेका देउवाले अन्ततः जितका लागि आवश्यक ५० प्रतिशत भन्दा १ मत पुर्याउन नसेकको विवरणहरु मतगणनामा संलग्न प्रतिनिधिहरुले सार्वजनिक गरेका थिए।

जीत निश्चित जस्तै ठानेर मतगणनामा बसेका देउवा पक्षका प्रतिनिधिहरुले कुल मत संख्या र गणना भएको मतका बीचमा अन्तर देखिएको भन्दै विवाद झिकेका थिए।

तस्वीर कपीराइट .

जसका कारण निर्वाचन आयोगले अन्तिम परिणाम घोषणा गर्न नसकेको निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेले बताए।

उनले भने, “हामीले औपचारिकरुपमा केही भनिसकेको अवस्था छैन, मत परिणाममा सानो भिन्नता देखिएकोले हामी त्यसको रुजु गरिरहेका छौँ, अब निर्वाचन समितिको बैठक बस्छ, ती सबै कागजातहरु अध्ययन गर्छ, त्यसैले यो विषयमा केही भनिहाल्ने स्थिति छैन, परिणाम घोषणा गरिहाल्ने स्थिति छैन।”

तीनैजना उम्मेदवारका प्रतिनिधि र निर्वाचन समितिबीच छलफल गरेपछि आवश्यक परे पुनः मतगणना हुन सक्ने उनले बताए।

विश्वसनीयता

उनले भने, “उहाँहरुले जुन खालको आशंकाको कुरा गरिरहनुभएको छ, मत यही छ, हाम्रै अगाडि जस्ताको तस्तै छ, हामी उहाँहरुको विश्वसनीयताका लागि पुनः मतगणना गर्नुपरेपनि गर्नेछौँ।”

निर्वाचन समितिले अन्तिम परिणाम घोषणा नगरेपनि निर्वाचनमा बसेका प्रतिनिधिहरुले दिएको विवरण अनुसार जीतका लागि आवश्य पर्ने १५७५ मतमध्ये देउवाले १५६४ मत पाएका छन्, जुन आवश्यकभन्दा ११ मत कम हो।

तस्वीर कपीराइट .

अर्का उम्मेदवार पौडेलले ११५२ तथा कृष्ण प्रसाद सिटौलाले ३२४ मत प्राप्त गरेको बताइएको छ।

१०७ मत बदर भएपछि निर्वाचन परिणाममा जटिलता देखिएको देउवा पक्षको दाबी छ।

उनीहरुले बदर मतलाई पुनः केलाएर हेर्नुपर्ने माग गरेका छन्।

प्रतिनिधिहरुबाट आएकै विवरण आधिकारिक भए सभापति पदका लागि पुनः मतदान हुने छ।