कांग्रेस सभापतिको मतपरिणाम 'राति अबेरसम्ममा'

  • 7 मार्च 2016
तस्वीर कपीराइट .
Image caption नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनमा सभापतिका तीन प्रत्यासी थिए

नेपाली कांग्रेसको जारी तेह्रौं महाधिवेशनमा सभापति पदका लागि दोस्रो मतदान सम्पन्न भएको छ।

आइतबार सम्पन्न पहिलो निर्वाचनमा सभापति पदका प्रत्यासी शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला कसैले पनि आवश्यक मत प्राप्त गर्न नसकेपछि सोमबार पहिलो र दोस्रो धेरै मत प्राप्त गरेका उम्मेदवारहरु देउवा र पौडैलबीच पुन: प्रतिस्पर्धा भएको हो।

कांग्रेसको विधान अनुसार तेस्रो भएका सिटौला प्रतिस्पर्धाबाट स्वत: बाहिरिएका छन्।

सोमबार राति अबेरसम्ममा मतगणना सम्पन्न हुने बताइएको छ।

दबाब

तस्वीर कपीराइट .
Image caption शेरबहादुर देउवाले आइतबारको मतदानमा १५६४ मत प्राप्त गरेका थिए

सोमबार दिउसो करिब तीन बजेदेखि शुरु भएको मतदान चारघण्टा जतिमा सम्पन्न भएको थियो।

पहिलो निर्वाचनको मतगणना गर्दा रातभर अनिँदो बसेका कारण मतगणना मंगलबार गर्ने भन्ने सोचाइमा रहेको निर्वाचन समितिलाई देउवा पक्षीय नेताहरुले सोमबारै गर्नुपर्ने दबाब दिएको बताइएको छ।

जुन कुरामा अन्तत: संस्थापन पक्षका नेताहरु पनि सहमत भएका थिए।

निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले भने, "दुवै पक्षबाट अनुरोध भयो यसलाई नराख्दिनोस सक्दिहाल्नोस भन्नुभयो हामीले आग्रह मान्यौं। "

दुइजनाको मात्र गणना गर्नुपर्ने भएकाले गणना छिटो हुने अधिकारीले बताएका छन्।

निर्क्यौल

तस्वीर कपीराइट .
Image caption आइतबारको निर्वाचनमा रामचन्द्र पौडैलले ११६० मत प्राप्त गरेका थिए

महामन्त्री, कोषाध्यक्ष, केन्द्रीय सदस्यहरुका लागि आइतबारकै मतदान कायम हुनेछ।

आइतबारका सबै मतपेटिका ललितपुरस्थित कांग्रेस मुख्यालय सानेपामा राखिएको छ।

सभापतिको निर्क्यौल भइसकेपछि अरु पदको मतगणना शुरु हुने बताइएको छ।

निर्वाचन समितिका अनुसार सोमबार ३,१२० जनाले मतदान गरेका छन्।

आइतबार ३,१४८ मत खसेको थियो।

त्यसमध्ये १०१ मत बदर भएको समितिले जनाएको थियो।

आइतबार भएको निर्वाचनमा शेरबहादुर देउवाले १हजार ५ सय ६४ मत प्राप्त गरेका थिए।

त्यो संख्या विजयी हुन आवश्यक भन्दा ११ मतले कम हो।

आइतबार संस्थापन पक्षका उम्मेदवार रामचन्द्र पौडेलले १,१६० मत प्राप्त गरेका थिए भने संस्थापन पक्षकै अर्का उम्मेदवार कृष्णप्रसाद सिटौलाले ३,२४ मत मात्र प्राप्त गरेका थिए।

आइतबारको मत परिणामका आधारमा विश्लेषण गर्ने हो भने हार्नेको मतसंख्या जित्नेकै हाराहारीमा हुने जस्तो देखिएकाले कांग्रेसको आगामी केन्द्रीय समितिमा यस अघि झैं दुइपक्षको शक्ति सन्तुलनको परम्परा कायमै रहने ठानिएको छ।