आप्रवासी संकटबारे बृहत् सिद्धान्तमा सहमति

  • 8 मार्च 2016
तस्वीर कपीराइट Reuters

युरोपेली संघ इयुका नेताहरुले टर्कीसँगको एउटा सम्मेलनमा युरोप प्रवेश गर्ने आप्रवासीहरुको भीड व्यवस्थापन गर्ने विषयमा बृहत् सिद्धान्तहरुमा सहमति गरिएको बताएका छन्।

तर टर्कीसँगको उक्त सहमतिको पूर्ण पाठलाई मार्च १७ तारिखमा हुने इयुका नेताहरुको बैठकमा प्रस्तुत गरिने भएको छ।

सम्मेलनमा टर्कीका प्रधानमन्त्री अहमेत दावूतव्लूले टर्कीले गर्ने सहयोगको बदलामा आर्थिक सहयोग रकम दुई गुणाले बढाएर ६ अर्ब डलरभन्दा बढी बनाउन अनुरोध गरेका थिए।

सहमतिपछि उनले भने, “यो खेल उल्ट्याउने सहमतिमार्फत हाम्रो मुख्य उद्देश्य मानवतस्करी रोक्दै गैरकानुनी आप्रवासनलाई कानुनी र नियमसम्मत बनाउनु हो।”

आश्रय

अंकाराले आफ्नो इयु सदस्यता र आफ्ना नागरिकलाई प्रवेशाज्ञा बिना युरोप प्रवेश गर्ने बाटो खोल्न शीघ्र कारबाहीको माग गरेको छ।

आप्रवासीहरुको बढ्दो भीडसँगै टर्कीले गृहयुद्धमा होमिएको सिरियाका ३० लाखभन्दा बढी शरणार्थीहरुलाई आश्रय दिइरहेको छ।“

इयुका नेताहरुले टर्कीसँगको सैद्धान्तिक सहमतिमाथि थप काम गर्न आवश्यक रहेको बताएका छन्।

उनीहरुका अनुसार पहिल्यैदेखि निर्धारित मार्च १७ र १८ तारिखको इयुको बैठकअघि पनि टर्कीसँगको वार्ता जारी राखिनेछ।

निगरानी

युरोप दोस्रो विश्वयुद्धयताकै सबैभन्दा ठूलो शरणार्थी संकटबाट गुज्रिरहेको छ।

ठूलो संख्यामा शरणार्थीहरु टर्की हुँदै युरोप पुगिरहेका छन्।

युरोपेली संघ चाहन्छ शरण लिन योग्य नरहेका आप्रवासीहरुलाई टर्कीले फर्काइदिओस् र आफ्नो जलक्षेत्रमा उसले निगरानीहरु अझ बढाओस्।

तर आफूले फर्काउने प्रत्येक आप्रवासीको बदलामा पुनर्वास कार्यक्रम अन्तर्गत एकजना सिरियाली शरणार्थी इयुले स्वीकार्नुपर्ने टर्कीको माग रहेको छ।