ईयु र टर्कीको प्रस्तावप्रति राष्ट्रसंघको चिन्ता

  • 8 मार्च 2016
तस्वीर कपीराइट epa
Image caption करिब २७ लाख सिरियाली शरणार्थीहरु अहिले टर्कीमा बसिरहेका छन्

आप्रवासी संकटको सम्बोधन गर्ने युरोपेली संघ र टर्कीका बीचमा प्रस्तावित सम्झौताप्रति संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी निकायले गम्भीर चिन्ता व्यक्त गरेको छ।

सम्झौता अनुसार ग्रीसका टापुमा आइपुग्ने हरेक गैरकानुनी आप्रवासीलाई टर्कीले फिर्ता लिनेछ र त्यसको बदलामा उति नै संख्यामा आफ्ना शिविर भित्र रहेका सिरियालीलाई युरोपले पुनर्वास गराउने छ।

राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायले भनेको छ, विदेशीहरुलाई सामुहिक रुपमा निकाल्नु युरोपेली कानुन अनुरुप हुनेछैन।

चिन्ता

राष्ट्रसंघको शरणार्थी सम्बन्धी निकायका प्रमुख फिलिपो ग्रान्डीले शरणार्थीहरुलाई सुरक्षा दिने संयन्त्रहरु अन्तर्राष्ट्रिय कानुनअनुसार निर्धारित नगरिएसम्म, शरणार्थीहरुलाई फिर्ता पठाउने कुनै पनि योजनाबारे आफू चिन्तित रहने बताए।

उनले भने, "कुनै शरणार्थीलाई त्यतिबेलामा मात्रै तेश्रो मुलुकमा पठाउनुपर्छ जब उनको शरणको निवेदन हेर्ने जिम्मा त्यो तेश्रो मुलुकले लिन्छ।"

एमनेष्टी इन्टरनेशनलले पनि उक्त प्रस्तावित सम्झौता शरण खोज्ने अधिकारका लागि घातक हुने बताएको छ।

सोमबार ब्रसल्समा भएको आप्रवासी संकटसम्बन्धी सम्मेलनबाट सम्झौता टुंगिसकेको छैन।

पहिलादेखि नै तय गरिएको मार्च १७ र १८ तारिखको ईयुको बैठकअघि पनि टर्कीसँगको वार्ता जारी राखिने अधिकारीहरुले बताएका छन्।

युरोप, दोस्रो विश्व युद्ध यताकै सबैभन्दा ठूलो आप्रवासी संकट सामना गरिरहेको छ।

अवस्था

गत वर्षमात्रै १० लाख भन्दा बढी मानिसहरु समुद्रमार्फत गैरकानुनी रुपमा युरोप प्रवेश गरेका थिए।

त्यसरी युरोप प्रवेश गर्नेहरु खासगरि टर्की हुँदै ग्रीस जाने सिरियालीहरु थिए।

सिरियामा चार वर्षसम्म गृहयुद्ध जारी रहँदा त्यहाँबाट धेरै मानिसहरु घर छोडेर गैरकानुनी रुपमा टर्की हुँदै ग्रीस प्रवेश गरेका थिए।

अन्य करिब २७ लाख सिरियाली शरणार्थीहरु अहिले टर्कीमा बसिरहेका छन्।

टर्कीले युरोपेली संघको सदस्यताको लागि दिएको निवेदनमाथि पनि छिट्टै विचार गरिनेछ।

युरोपेली संघका प्रमुखले आप्रवासी संकटसँग जुध्नका लागि बलिया कदमहरु आवश्यक रहेको बताएका छन्।

युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टस्कले सम्मेलनमा उपस्थित नेताहरुले एउटा उल्लेख्य उपलब्धि हासिल गरेको बताएका छन्।

उनले आउँदो सातासम्ममा सम्झौता टुंगिनेमा आशा व्यक्त गरे।