केन्द्रिय सदस्यमा पुरानै अनुहारको अग्रता

  • 9 मार्च 2016
Image caption निर्वाचनमा कुल ३१ सय ४८ मत खसेको थियो

नेपाली कांग्रेसको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको खुल्ला केन्द्रिय सदस्यको पदमा पुरा नै अनुहारहरुले अग्रता लिएका छन्।

दिनभरमा १ सय ५० मत मात्र गणना भएको र बाँकि मत बिहीबार गणना गरिने निर्वाचन समितिले जनाएको छ।

खुल्लातर्फको २५ जना केन्द्रिय सदस्यको पदका लागि ९० जना उम्मेदवार बनेका थिए।

सभापति, महामन्त्री र कोषाध्यक्षको गणना बिहीबार सकिएपछि बुधबार दिउँसो देखि केन्द्रिय सदस्यको मतगणना शुरु गरिएको थियो।

परिचित अनुहार

हालसम्मको मतगणना अनुसार खुमबहादुर खड्का, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधि, प्रदिप गिरी महेश आचार्य धेरै मत पाउनेहरुको सूचीमा देखिएका छन्।

चर्चित युवा नेताहरु प्रदिप पौडेल, विश्व प्रकाश शर्मा पनि अगाडि नै छन्।

अग्रता लिने अन्य नेताहरुमा पहिलेदेखि नै केन्द्रिय समितिमा रहेका परिचित अनुहारहरु छन्।

हालसम्मको गणनामा खुल्ला तर्फ आवश्यक २५ जना भित्र नपरेका परिचित अनुहारहरुमा तारानाथ रानभाट, चीरञ्जिवी वाग्ले, गोविन्द राज जोशी, मनमोहन भटराई, लक्ष्मण घिमिरे लगायत छन्।

९० जना उम्मेदवार रहेको लामो मतपत्र भएका कारण मतगणनामा ढिलाइ भएको बताइएको छ।

गणना

खुल्ला केन्द्रिय सदस्यको अन्तिम परिणाम आउन भने अझै केही दिन लाग्ने निर्वाचन समितिका सदस्य गोपाल कृष्ण घिमिरेले बताए।

उनले भने, "बुधबारको अवस्था हेर्दा खेरी त अन्तिम नतिजाको दिन भन्नै गार्हो भएको छ उम्मेदवार र प्रतिनिधिहरु सँग छलफल गरेर ४ दिन भित्र टुङयाउने कोशिसमा छौं।"

गणना गर्न बाँकी रहेका मतपत्रहरुलाई पुन सिलबन्दी गरेर राखिएको र बिहीबार १० बजेबाट पुन गणना थालिने बताइएको छ।

बिहीबार नै समावेशीतर्फका केन्द्रिय सदस्यहरुको पनि मतगणनाको काम सुरु गरिने र ती मध्य केहीको बिहीबारसम्म परिणाम आउनसक्ने निर्वाचन समितिले जनाएको छ।