आप्रवासीलाई म्यासेडोनिया 'छिर्न नदिने'

  • 9 मार्च 2016
तस्वीर कपीराइट AFP
Image caption गत वर्ष लाखौं मानिसहरुले म्यासेडोनिया हुँदै यात्रा गरेका थिए

म्यासेडोनियाले अबदेखि आप्रवासीहरुलाई ग्रीसबाट आफ्नो देशमा छिर्न नदिने भनेको छ र आप्रवासीहरुको बाल्कन राष्ट्र हुँदै उत्तरी युरोप पुग्ने बाटो बन्द गरिदिएको छ।

उत्तरी राष्ट्र स्लोभेनियाले आप्रवासीहरुलाई छिर्न नदिने भनेपछि क्रोएशिया र सर्बियाले पनि त्यसै गर्ने घोषणा गरे र यसपछि स्लोभेनियाको यस्तो निर्णय आएको हो।

स्लोभेनियाले आफ्नो देशमा शरण माग्ने अथवा स्पष्ट रुपमा मानवीय सहायता आवश्यक भएका आप्रवासीका लागि मात्रै सिमाना खुलाउने भनेपछि स्लोभेनिया हुँदै यात्रा गर्ने आप्रवासीको बाटो बन्द भएको हो।

पुनर्वास

त्यसपछि सर्बियाले आधिकारिक कागजपत्र नभएकाहरुलाई आफ्नो देशमा नछिराउने घोषणा गर्यो।

युरोपेली संघ र टर्कीले दोश्रो विश्वयुद्धयताको सबैभन्दा ठुलो शरणार्थी संकटको सामना गर्न एउटा योजनाको प्रस्ताव पेश गेरपछि यस्तो निर्णय आएका हुन्।

निर्णय हुन बाँकी यो योजना अन्तर्गत टर्की र ग्रीस आईपुग्ने सबै शरणार्थीलाई फिर्ता पठाईनेछ र त्यसको बदलामा सिरियाली शरणार्थीलाई युरोपमा पुनर्वास गराईने छ।

सोमबार यो योजनाको घोषणा गर्दै युरोपेली संघका अध्यक्ष डोनल्ड टस्कले अब शरणार्थीका लागि युरोप जाने बाटो बाँकी नरहेको बताएका थिए।

नियन्त्रण

गत वर्ष लाखौं मानिसहरुले म्यासेडोनिया हुँदै यात्रा गरेका थिए।

तर म्यासेडोनियाले शरणार्थीहरुमाथि नियन्त्रण गर्न थाल्यो।

शुरुका चरणमा सिरिया ईराक र अफगानिस्तानका शरणार्थीलाई मात्रै जान दियो, र पछिल्ला चरणमा एकदमै थोरैलाई मात्रै अनुमति दियो।

क्रोएशिया हंगेरी, र अस्ट्रियालगायत अन्य थुप्रै देशले आप्रवासीलाई नियन्त्रण गर्ने यस्ता कदमको घोषणा गरेका छन्।

यसका कारण ईडोमेनी शिविरमा अहिले करीब १३ हजार जना फँसिरहेका छन्।