लुलाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

  • 10 मार्च 2016
petrobras तस्वीर कपीराइट Petrobras ABr
Image caption राज्य नियन्त्रित तेल कम्पनी पेट्रोब्रासमा भएको घोटालासंग पछिल्लो अनुसन्धान जोडिएको बताइएको छ

ब्रजिलका अभियोजनकर्ताहरुले पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाविरुद्ध कालो धन वैध बनाएको अभियोगमा मुद्दा दायर गर्दैछन्।

उनले आफूले कुनै पनि गलत कार्य नगरेको भन्दै पछिल्लो सरकारी कदमलाई राजनीतिक रुपमा अभिप्रेरित भनेका छन्।

घोटाला?

पछिल्ला अभियोगहरु, राज्य नियन्त्रित तेल कम्पनी पेट्रोब्रासमा भएको भनिएको एउटा ठूलो घोटालाको अनुसन्धानको हिस्सा भएको बताइएको छ।

लुला र उनकी श्रीमतीलाई एउटा रिजोर्टमा उनीहरुको स्वामित्वमा रहेको भनिएको विलासी पेन्टहाउसबारे सोधपुछ गरिएको छ।

लुलासंगै १६ जनाविरुद्ध साउ पाउलोका अभियोजनकर्ताहरुले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गर्दैछन्।

लुलाका छोराको नाम पनि त्यो सूचीमा रहेको ठानिएको छ।

ती अभियोगहरु न्यायधीशले औपचारिक रुपमा स्वीकार गर्न बांकी नै छ।

अभियोजनकर्ताहरुले बिहीबार एउटा पत्रकार सम्मेलनको घोषणा पनि गरेका छन्।

खण्डन

७० वर्षे लुलाले पछिल्ला अभियोगहरुको खण्डन गरेका छन् र त्यसलाई राजनीतिक रुपमा प्रेरित कदम भनी टिप्पणी गरेका छन्।

लुलालाई तीन तले विलासी पेन्टहाउसबारे सोधपुछ गर्न गत शुक्रबार पक्राउ गरिएको थियो।

उनी पक्राउ परेको घटनालाई उनका समर्थकहरुले मात्रै नभइ अन्य न्यायधीश र राजनीतिज्ञले अनावश्यक कदम भन्दै आलोचना गरेका छन्।