केन्द्रीय सदस्यको दौडमा देउवा पक्षकै अग्रता

  • 10 मार्च 2016
Image caption अझै खुल्लातर्फकै २६ सय भन्दा बढी मत गणना गर्न बाँकी रहेको बताइएको छ

नेपाली काँग्रेसको खुल्ला केन्द्रीय सदस्यको जारी मत गणनामा नवनिर्वाचित सभापति शेरबहादुर देउवा पक्षका धेरै उम्मेदवारले अग्रता लिएका छन्।

बिहीबारसम्म भएको खुलातर्फका २५ जना केन्द्रीय सदस्यका उम्मेदवारको मत गणना अनुसार देउवा पक्षका १४ जना र यसअघि संस्थापन भनिएको पक्षका ११ जनाले अग्रता लिएका छन्।

सभापतिमा विजयी देउवा र निकटतम प्रतिद्वन्द्वी रामचन्द्र पौडेल दुबैले चुनावमा आ-आफ्नो पक्षका केन्द्रीय सदस्यका उम्मेदवारको सूची तयार गरेका थिए।

बुधबार दिनभर १ सय ५० मत मात्र गणना भएको खुल्ला तर्फको केन्द्रिय सदस्यको बिहीबार थप २ सय ५३ मत गणना भएको छ।

पुरानै अनुहार

सबै पदको अन्तिम परिणाम आउन अझै ५ दिन लाग्ने निर्वाचन समितिले जनाएको छ।

बिहीबारको गणनामा पनि बुधबार अग्रता लिएकै अधिकांश नेता नै अग्रस्थानमा छन्।

निर्वाचन समितिका अनुसार खुमबहादुर खड्का, प्रकाशमान सिंह, शेखर कोइराला, प्रदीप गिरि, प्रदीप पौडेल, बालकृष्ण खाँड, विमलेन्द्र निधिलगायतका नेता सबैभन्दा बढि मतका साथ अगाडि छन्।

बिहीबार सम्पन्न भएको समावेशी अन्तर्गत मुस्लिमतर्फको केन्द्रीय सदस्यमा मोहम्मद अफताब आलमलाई हराउँदै देउवा पक्षका फर्मुल्लाह मन्सुर विजयी भएका छन्।

समावेशी अन्तर्गतको अन्य मत गणना शुक्रबार गर्ने निर्वाचन समितिको योजना छ।

बाँकि

निर्वाचन समितिका सचिव प्रदीप पराजुलीका अनुसार चुनावको अन्तिम परिणाम आउन अझै पाँच दिन जति लाग्न सक्छ।

उनले भने, "अबको दुई दिनमा आरक्षणको गणना सकेर दुई दिनपछि प्रदेशको गणना सक्छौं, त्यसपछि सबै जनशक्ति लगायत खुल्लातर्फको गणना सक्छौं।"

हालसम्म सभापति, महामन्त्री, कोषाअध्यक्ष र एकजना केन्द्रीय सदस्यको मात्र परिणाम घोषणा भएको छ।

अझै प्रदेशतर्फ १४, खुला महिला ६, खुला जनजाति ३, जनजाति महिलातर्फ २, खुला दलित ३, दलित महिलातर्फ २, खुला मधेशी ३, मधेशी महिला २ गरि ६० जना केन्द्रीय सदस्यको गणना गर्न बाँकि छ।