भूकम्प प्रभावित क्षेत्रमा भूगर्भ विभागको टोली

  • 11 मार्च 2016
तस्वीर कपीराइट .

खानी तथा भूगर्भ विभागले भूकम्पपछि जोखिममा परेका प्रभावित क्षेत्रहरुको वास्तविकता बुझ्न अध्ययन टोली खटाउने तयारी थालिएको जनाएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको विस्तृत योजना बनाउनुअघि भौगोलिक अवस्थाको विवरण जरुरी रहेको भन्दै जोखिमयुक्त स्थानको पहिचान गराउनका निम्ति भूगर्भ विभागलाई पत्राचार गरेपछि विभागले सो काम थालेको हो।

प्राधिकरणले भौगोलिक अवस्थाको अध्ययनसँगै पुनर्निर्माणको नियमित काममा कुनै असर नपर्ने जनाएको छ।

भूकम्प गएलगत्तै खानी तथा भूगर्भ विभागले द्रुत गतिमा गरेको अध्ययनले कतिपय दुर्गम स्थान नसमेटिएकोले अब प्राधिकरणले तोकेको क्षेत्रमा विस्तृत अध्ययन थाल्ने त्यहाँका अधिकारीले बताएका छन्।

प्राथमिकता

विभागका अनुसार पर्याप्त जनशक्ति नभएपनि सकेसम्म छिटो काम सम्पन्न गर्ने प्रयास गरिनेछ।

खानी तथा भूगर्भ विभागका निमित्त महानिर्देशक राजेन्द्रप्रसाद खनालले भने, “उहाँहरुले प्राथमिकताको आधारमा यी यी क्षेत्रमा टोली पठाइदेउ भनी हामीलाई पत्राचार गर्नुभएको छ, हाम्रो पनि खनिज अन्वेषणको काम अनि नियमित काम पनि धेरै छ, तैपनि हामी प्रयास गर्नेछौँ, एक दुई दिनभित्रै हामी टोली पठाउछौँ।”

प्राधिकरणले जनाएअनुसार भूकम्पको अति प्रभावित १४ जिल्लासहित कुल ३१ जिल्लाका जोखिमयुक्त स्थानहरुको अध्ययन भूगर्भ विभागले गर्नेछ।

तर भूकम्प पीडितहरुलाई घर निर्माणका लागि यसै हप्ताबाट रकम वितरण गर्ने तयारी गरिरहेको पुनर्निर्माण प्राधिकरणले जोखिमयुक्त बस्तीको पहिचान नगरी रकम वितरण गर्दा अप्ठेरोमा पर्न सक्ने प्रश्न उठेको छ।

योजना

प्राधिकरणका प्रवक्ता सुरेश अधिकारीले पुनर्निर्माणको काममा यसले कुनै असर नपर्ने बताए।

उनले भने, “कहाँ-कहाँ उपयुक्त छैन भन्ने आएका स्थानमा भने अहिले हामी काम गर्दैनौँ, जस्तै ४ सय ‍बस्ती सार्नुपर्ने भन्ने अध्ययन छ, ती स्थानहरुका लागि अहिले अनुदान रकम वितरण हुँदैन, त्योबाहेकको अरु क्षेत्रहरुमा हुन्छ।”

भूकम्प गए लगत्तै भूगर्भ विभागले गरेको द्रुत अध्ययनले ४ सयभन्दा बढी स्थान जोखिमयुक्त भएको निष्कर्ष निकालेको थियो, जुन तत्कालीन समयमा पीडितहरुलाई सार्नेका लागि उपयोग बनेको थियो।

प्राधिकरणले भूकम्पीय जोखिम भएका बस्ती सार्नुपरेमा एकीकृत बस्ती बसाल्ने योजना बनाइएको जनाएको छ।