घोषित २५ पदमा देउवा पक्षको बाहुल्य

  • 12 मार्च 2016
तस्वीर कपीराइट .
Image caption करिब ३१ सय मतदाताले भाग लिएको चुनावको पूर्ण परिणाम आउन अझैं दुई दिन लाग्ने बताइएको छ

नेपाली कांग्रेसको आरक्षणतर्फ २१ जना केन्द्रीय सदस्यको मत परिणाम घोषणा भएको छ।

यससँगै तीनजना पदाधिकारी र २२ जना केन्द्रीय सदस्यको परिणाम सकिएको छ।

आरक्षणतर्फ महिला तीनजनाका साथै दलित, आदिवासी-जनजाती र मधेसीतर्फको खुला र महिला सहित पाँच-पाँच जना शनिवार विजयी घोषणा गरिएका हुन्।

मुस्लिम आरक्षणको परिणाम यसअघि नै आइसकेको छ।

बहुमत

आदिवासी-जनजाती आरक्षणको पाँच सिटमा देउवाभन्दा सभापतिका अर्का प्रत्याशी रामचन्द्र पौडेल पक्षका एकजना बढी निर्वाचित भएका छन्।

अन्य आरक्षणमा भने देउवा पक्षका भनि परिचितहरु धेरैले जितेका छन्।

पदाधिकारी सहित कुल ६४ पदका निम्ति मतदान भएको थियो।

अब खुलातर्फका २५ र प्रदेशतर्फका १४ केन्द्रीय सदस्यको मत परिणाम आउन बाँकी छ।

अग्रता देउवाकै

निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले भने, “प्रदेश र खुला तर्फको चार-चार ठाउँमा मत गणना गर्न सकियो भने सोमबारसम्म सबै पदको परिणाम घोषणा गर्न सकिने विश्वास छ।”

आधा जति मत गणना भइसक्दासम्म खुलातर्फको २५ जनाका निम्ति देउवा पक्षका १४ र पौडेल समूहका ११ जनाले बढि मत ल्याएर अग्रता लिएका छन्।

हरेक प्रदेशबाट निर्वाचति हुने केन्द्रीय सदस्यको दौडमा भने दुबै पक्षका उम्मेदवार करिव हाराहारीमा रहेको देखिन्छ।

कांग्रेसको मत गणनालाई नजिकबाट नियालि रहेका जानकारहरुका अनुसार अहिलेसम्मको अवस्था हेर्दा केन्द्रीय समितिमा देउवा खेमाको बहुमत आउने सम्भावना छ।