शान्ति वार्तामा असदको भविष्यबारे छलफल नहुने

  • 12 मार्च 2016
तस्वीर कपीराइट Reuters
Image caption गत महिनाको अन्त्यमा द्वन्द्वका धेरैपक्षको सहमतिमा अस्थायी युद्धविराम शुरु भएको थियो

जिनिभामा आगामी सोमबार फेरी शुरु हुन लागेको शान्ति वार्तामा राष्ट्रपति असदको भविष्यबारे कुनै छलफल नहुने सिरियाका विदेशमन्त्री वालिद अल मुआलेमले स्पष्ट पारेका छन्।

डमास्कसको एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले एउटा सरकारी टोली छिटै जिनिभातर्फ लाग्ने बताए।

शनिबारको पत्रकार सम्मेलनले एउटा स्पष्ट सन्देश दिएको छ।

दाबी

सिरियाका विदेशमन्त्रीले सिरियाको सेनाले जितिरहेको र संकट अन्त्यको नजीक पुगेको दाबी गरे।

विपक्षीले रणभूमीमा नजितेको कुरा वार्ताबाट जित्ने अपेक्षा लिएर जिनिभा जानु नहुने उनले बताए।

सरकारले उल्लंघन गर्न नहुने केही सीमाहरु रहेको उनले बताए, जस अन्तर्गत थियो राष्ट्रपति असदको भविष्य।

सिरियाको विपक्षले पनि संयुक्त राष्ट्रसंघको मध्यस्थतामा हुन लागेको वार्तामा उपस्थित हुने बताएको छ।

राष्ट्रपति असदलाई सत्ताबाट हटाउनका लागि ५ वर्ष अगाडि शुरु भएको सिरियाली गृहयुद्धमा २ लाख ५० हजार जनाको मृत्यु भईसकेको छ र लाखौं विस्थापित भएका छन्।

'आशाको किरण'

सिरियाको विपक्षीका लागि भने जिनिभामा कुनै पनि वार्ता गर्नुको मुख्य चासोको विषय नै राष्ट्रपति असदको भविष्य हो।

यी सबै कुराबाट प्रष्ट छ, सिरियामा राजनीतिक समाधान छिटै आउनेवाला छैन।

वार्ता समितिले वार्ताका लागि विपक्षीमाथि कुनै शर्त नराख्ने बताएको छ।

तर अन्तर्राष्ट्रिय मान्यताको संरचना भित्र रहेर काम गर्नुपर्नेमा उसले जोड दिएको छ।

सबै पक्ष अन्तर्राष्ट्रिय मानवअधिकारका सिद्धान्तप्रति प्रतिबद्धता हुनुपर्ने उसले बताएको छ।

शान्तिवार्ताको पछिल्लो प्रयास रुसी आक्रमणमाझ रद्द भएको थियो।

त्यो युद्धविराम अपेक्षा गरिए भन्दा धेरै राम्रोसंग लागू भएको र शान्ति वार्ता शुरु हुनु भन्दा अगाडि यो एउटा आशाको किरण भएको बीबीसी संवाददाताले बताएका छन्।