यौन दुराचारको समस्या रोक्ने प्रस्ताव अनुमोदन

  • 12 मार्च 2016
तस्वीर कपीराइट Getty

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले शान्तिस्थापक सैनिकबाट हुने यौन दुराचारको समस्या सम्बोधन गर्न पहिलोपटक प्रस्ताव अनुमोदन गरेको छ।

दुराचारको विश्वसनीय प्रमाण भेटिए सैनिक वा प्रहरी टोली नै फिर्ता पठाउन सकिने राष्ट्रसंघीय महासचिव बान की मुनको योजनालाई पछिल्लो प्रस्तावले समेटेको छ।

सुरक्षा परिषद्का १४ सदस्यले प्रस्तावको पक्षमा मतदान गरेका थिए तर उक्त प्रस्तावमा आफ्नो संशोधन अस्वीकृत भएपछि इजिप्टले भने मतदानमा भाग लिएन।

राष्ट्रसंघका लागि अमेरिकी राजदूत समन्था पावरले भनिन्, “यो प्रस्तावले त्यस्ता शान्तिस्थापक सैनिक, जो यौन शोषणका दोषी हुन ती शान्ति स्थापना मिसनमा काम गर्न योग्य छैनन् भन्नेमा जोड दिएको छ।”

निर्दोष

केही मुलुकले भने सामूहिक सजायका कारण निर्दोष सैनिकसमेत त्यसको मारमा पर्ने सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

गत वर्ष राष्ट्रसंघका विभिन्न १० वटा शान्ति मिसनमा बालबालिकामाथि बलात्कार र यौन दुराचारका ६९ वटा आरोपहरु लगाइएका थिए।

सन् २०१४ मा त्यस्ता आरोपको संख्या ५२ थियो।

तस्वीर कपीराइट Reuters

राष्ट्रसंघीय मिसनमा खटिएका सेना, अन्तर्राष्ट्रिय प्रहरी, अन्य कर्मचारी र स्वयंसेवकहरुमाथि त्यस्ता आरोपहरु लगाइएका थिए।

आलोचना

राष्ट्रसंघको नीतिअनुसार उसको झण्डामुनि काम गर्ने शान्ति स्थापक सेनामाथि दुर्व्यवहार गरेको आरोप लागे सम्बन्धित मुलुकलेनै अनुसन्धान गर्नुपर्ने र मुद्दा चलाउनुपर्ने व्यवस्था छ।

तर यौन दुर्व्यवहारसम्बन्धी आरोपबारे तत्काल कारवाही गर्न नसकेको भन्दै राष्ट्रसंघको आलोचना हुँदै आएको छ।

राष्ट्रसंघीय मिसनका लागि सबैभन्दा बढी रकम दिने अमेरिकाले पछिल्लो प्रस्ताव तयार पारेको हो।