नुस्रा फ्रन्टद्वारा इदलिबमा आक्रमण

  • 13 मार्च 2016
तस्वीर कपीराइट epa
Image caption मानिसहरु नुस्रा फ्रन्टविरुद्ध पनि मारत अल नुमानमा उत्रिएका छन्

अलकायदासंग सम्बद्ध समूह अल नुस्रा फ्रन्टले सिरियामा त्यहाँको इदलिब प्रान्तमा पश्चिमा देशले सघाइरहेको लडाकु समूहमाथि आक्रमण गरेको छ।

त्यहाँको डिभिजन १३ ले भनेको छ, "मारत अल नुमान भन्ने सहरमा रहेको उसको कार्यालयमा उक्त विद्रोही समूहले छापा मारेर त्यहाँबाट हतियारहरु लुटेको छ।"

सिरियामा निकै जटिल गठबन्धन रहेको नुस्र फ्रन्टले कहिले अन्य लडाकु गुटसँगसँगै त कहिले उनीहरुको विरुद्धमा लड्दै आएको छ।

हमलामा कमी

यी समूहहरुको निकै कठिन तरिकाले एकता भएको थियो जसले गर्दा उनीहरु इदलिबलाई आफ्नो नियन्त्रणमा लिन अघिल्लो वर्ष सफल भएका थिए।

अहिलेको युद्धविरामभित्र नुस्रजस्तै विद्रोही समूह इस्लामिक स्टेट (आइएस) परेको छैन।

सरकार र रुसले गर्ने गरेको हवाइ हमलामा पनि निकै कमी आएको छ।

हवाइ हमलामा व्यापक रुपमा कमी आएपछि त्यसले मानिसहरुलाई सरकारविरुद्ध फेरी सडकमा उत्रन बल दिएको छ।

त्यसले हालै युद्ध गर्न केही अन्य गठबन्धनलाई उत्तेजित गराएको देखिन्छ।

अपेक्षा

यसैबीच सिरिया सरकारले भनेको छ, "जिनिभामा भोलिबाट फेरी हुन लागेको शान्ति वार्तामा उसले नयाँ प्रतिनिधि टोली पठाउनेछ, तर उसले छलफल हुने विषयलाई भने सीमित पारेको छ।"

विदेशमन्त्री वालिद मुआलेमले दमास्कसमा बोल्दै राष्ट्रपतीय चुनावको विषयमा छलफल नहुने बताए।

विपक्षी गठबन्धनका प्रवक्ताले भने, यस्तो पूर्वसर्तले सुरु नै नभएको शान्ति वार्तालाई रोक्न सक्छ।

अमेरिकाका विदेशमन्त्री जन केरीले आइतबार जर्मनी, फ्राँन्स र ब्रिटेनका आफ्ना समकक्षीलाई भेट्ने अपेक्षा गरिएको छ।

यसअघि अमेरिकाले दुईसाता अघि सुरु भएको युद्धविरामपछि हिंसा नाटकीय रुपमा घटेको बताएको थियो।

योजना

सिरियाको मुख्य विपक्षी समूह हाइ नेगोशियसन्स कमिटीले शुक्रबार उसले कार्यकारी शक्ति रहने एउटा अन्तरिम सरकार बनाउन सक्ने बताएको थियो, जहाँ राष्ट्रपति बसर अल असद र अहिलेको नेतृत्वको कुनै भूमिका हुनेछैन।

यसअघि भएको वार्तामा राष्ट्रपति असदको भविष्यको विषय मुख्य वाधक बनेको थियो।

सिरियाकालागि राष्ट्रसंघका विशेष दूत स्टाफान डि मिस्टुराले अबको १८ महिनामा राष्ट्रपतिय चुनाव भएको हेर्न चाहेको बताएका छन्।

तर शनिबार विदेशमन्त्री मुआलेमले राष्ट्रपतिको भविष्यबारे छलफल नहुने बताएपछि त्यो योजना रद्द भएको थियो।