अंकारा विष्फोटमा कम्तीमा ३४ को मृत्यु

  • 14 मार्च 2016
तस्वीर कपीराइट EPA

मध्य अंकारामा गराइएको एउटा कारबम विष्फोटमा कम्तीमा ३४ जनाको ज्यान गएको त्यहाँका स्वास्थ्यमन्त्रीले बताएका छन्।

घटनामा १०० जनाभन्दा बढी घाइते भएका छन्।

गुभेन पार्क भन्ने स्थानमा विष्फोट गराइएको थियो जुन एउटा महत्पूर्ण यातायात केन्द्र र व्यापारिक क्षेत्र पनि हो।

विष्फोटपछि घटनास्थलमा थुप्रै गाडीहरुमा आगो लागेको देखिन्थ्यो, त्यसमा कम्तीमा एउटा बस पनि थियो।

लडाइँ

विष्फोटपछि घाइतेलाई लिन गएका थुप्रै एम्बुलेन्सहरु देखिन्थे।

टर्कीको हुर्रियत पत्रिकाले स्थानीय समयअनुसार साँझको ६ बजेर ४० मिनेटमा विष्फोट गराइएको बताएको छ।

उसका अनुसार अर्को आक्रमणको आशंकामा विष्फोटपछि उक्त क्षेत्र खाली गराइएको थियो।

राष्ट्रपति रिजेप ताय्यीप एर्डोआनले आतंकवादविरुद्धको लडाइँ जारी राख्ने वाचा गरेका छन्।

तस्वीर कपीराइट Reuters

पछिल्ला महिनाहरुमा टर्कीको राजधानीमा गराइएको यो तेस्रो आक्रमण हो।

बीबीसी संवाददाता मार्क लोवेन भन्छन्, यो टर्कीको लागि मात्र चिन्ताको विषय होइन अरु विश्वका लागि पनि चिन्ताको विषय हो, किनभने पश्चिमा मुलुकहरु स्थिर टर्की चाहन्छ जो उत्तर एट्लान्टिक सन्धि संगठन नेटोको एउटा महत्वपूर्ण सदस्य हो अनि इराक र सिरियासँग सीमा जोडिएको पश्चिमा साझेदार मुलुक पनि हो।

जिम्मेवारी

टर्कीको फौजसँगको लडाइँ हारिरहेकोले आतंकवादी समूहहरुले सर्वसाधारणलाई निशाना बनाउन थालेको राष्ट्रपति एर्डोआनले बताए।

पछिल्लो आक्रमणको हालसम्म कुनैपनि समूहले जिम्मेवारी दाबी गरेको छैन।

तर सरकारी स्रोतहरुले कुर्दिश विद्रोहीतर्फ औंला तेर्स्याएका छन् जसमाथि गत महिना गराइएको यस्तै प्रकृतिको विष्फोटको आरोप लगाइएको थियो।

यद्यपि इस्लामिक स्टेट समूहको आक्रमणको पनि टर्की निशाना बन्दै आएको छ।

गत अक्टोबरमा १ सय जनाभन्दा बढीको ज्यान जाने गरी गराइएको एउटा आत्मघाती विष्फोटको उक्त समूहले जिम्मेवारी लिएको थियो।