कांग्रेसमा 'देउवा पक्ष'को स्पष्ट बहुमत

  • 14 मार्च 2016
तस्वीर कपीराइट .
Image caption नौ दिनको मतगणनापछि कांग्रेसको निर्वाचन नतिजा सोमबार सार्वजनिक भएको छ

नेपाली कांग्रेसको निर्वाचनको अन्तिम परिणाम अनुसार विजयी हुनेमा नव-निर्वाचित सभापति शेरवहादुर देउवा पक्षका ३६ जना र महामन्त्री र कोषाध्यक्ष सहित रामचन्द्र पौडेल पक्षका भनिएका २८ जना रहेको बताइएको छ।

निर्वाचन सम्पन्न भएको ९ दिनपछि सोमबार पूर्ण परिणाम सार्वजनिक भएको हो।

खुल्ला र प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यको टुङगो लागेसँगै मतगणनाको काम सकिएको निर्वाचन समितिले जनाएको छ।

सभापति, महामन्त्री, कोषाध्यक्ष र समावेशी केन्द्रीय सदस्यको परिणाम यसअघि नै सार्वजनिक भइसकेको थियो।

संघीयमा समान

खुल्ला र समावेशी समुहका केन्द्रीय सदस्यमा देउवा पक्षका धेरै निर्वाचित भएपनि पहिलो पटक शुरु गरिएको संघीय प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमा प्रत्येक प्रदेशबाट दुबै पक्षका एक/एक जना निर्वाचित भएको बताइएको छ।

निर्वाचन आयोगलाई यहि चैत्र ३ गतेसम्म महाधिवेशन सम्पन्न भएको जानकारी सहित निर्वाचित कार्यसमितिको सूची पठाइ सक्नुपर्ने संवैधानिक वाध्यता थियो।

निर्वाचनको मतगन्ति सकिएसँगै विजय घोषणासभाको तयारी थालिएको निर्वाचन समितिका सचिव प्रदिप पराजुलीले बताए।

उनले भने, "भोली [मंगलवार] या पर्सी [बुधवार] सम्म घोषणासभा गरेर सबै विजयी उम्मेदवारलाई प्रमाणपत्र दिने तयारीमा लागिरहेका छौं।"

पुरानै

निर्वाचन परिणाम अनुसार सबैभन्दा धेरै चर्चा भएको खुल्ला केन्द्रीय सदस्यमा अधिकांश पुरानै अनुहार निर्वाचित भएका छन्।

यस पटकको निर्वाचनबाट खुल्लातर्फ जितेका १८ जना गत केन्द्रीय समितिकै सदस्य हुन्। त्यसमा मनमोहन भट्टराईमात्र पराजित भएका छन्।

रमेश लेखक र विश्वप्रकाश शर्मा पहिलो पटक केन्द्रीय सदस्य बनेका छन्।

खुल्ला केन्द्रीय सदस्यमा विजयी ५ जना विगतमा पदाधिकारी रहेका, समावेशी कोटामा परेका, मनोनित गरिएका र अंचलबाट केन्द्रीय सदस्य रहिसकेका छन्।

गत केन्द्रीय समितिमा निर्वाचित मध्येका केही केन्द्रीय सदस्य पदाधिकारीका उम्मेदवार बनेको र एकजना राजदूतमा नियुक्त भएपछि खुल्ला केन्द्रीय सदस्यमा केही नयाँ अनुहारले प्रवेश पाएका हुन्।

खुल्लामा निर्वाचन जित्नेहरुमा केही जनजाती, मधेशी र महिला पनि रहेको सचिव पराजुलीले बताए। तर सो स‌ख्या अत्यन्त न्यून छ।

कांग्रेसभित्र परिचित मानिएका गोविन्दराज जोशी, चिरन्जिवी वाग्ले, लक्ष्मणप्रसाद घिमिरे, तारानाथ रानाभाट, विनयध्वज चन्द, रामकृष्ण ताम्राकार र उदय शम्शेर राणा पराजित भएका छन्।

पार्टी विधान अनुसार एकजना उपसभापति, एकजना महामन्त्री र एकजना सहमहामन्त्री सहित २१ जना केन्द्रीय सदस्य मनोनित हुनेछन्।