सिरियाबारे नयाँ चरणको शान्ति वार्ता शुरु

  • 14 मार्च 2016
तस्वीर कपीराइट
Image caption शान्तिवार्ताले युद्धग्रस्त सिरियामा केही आशा पलाएको बताइन्छ

जिनिभामा शुरु भएको सिरियाबारे नयाँ चरणको शान्ति वार्तालाई राष्ट्रसंघका दूत स्टफान डा मिस्तुराले सत्यको क्षणको संज्ञा दिएका छन्।

वार्ता शुरु हुनु भन्दा अगाडी डा मिस्तुराले राजनीतिक परिवर्तनलाई सबैभन्दा मुख्य मुद्दा भन्दै त्यसको एकमात्र विकल्प भनेको युद्धमा फर्किनु हो भनेका छन्।

राष्ट्रपति बारे मतभेद

सिरियामा गत फेब्रुअरी महिनामा शुरु भएको आंशिक युद्धविरामलाई कुटनीतिज्ञहरु जारी राख्न चाहन्छन्।

द्वन्द्वरत पक्षहरुबीच संयुक्त राष्ट्रसंघको नेतृत्वमा शुरु हुन लागेको वार्ता रुसले गत सेप्टेम्बर महिनामा हवाई आक्रमण शुरु गरेपछिको पहिलो गम्भीर कुटनीतिक प्रयास हो।

तर सरकारी पक्ष र विपक्षी दल राष्ट्रपति असदको भविष्यका बारेमा सहमति गर्न तयार छैनन्।

शनिबार सिरियाका विदेशमन्त्री वालिद मोआलेमले राष्ट्रपति असदको भविष्यका बारे कुनै वार्ता नहुने स्पष्ट पारेका थिए। उनले राष्ट्रपतिका बारेमा निर्णय गर्ने हक सिरियाली जनतालाई मात्रै रहेको बताएका छन्।

विपक्षी अडान

तर मुख्य विपक्षी समूहले भने असद सत्ताबाट हट्नु पर्ने अडान लिएको छ। विपक्षीहरुको छाता समूह हाई नेगोसिएसन कमिटीले मोआलेमको यस्तो उक्तीले वार्ता शुरु हुनु भन्दा अगाडि नै त्यसलाई रोक्न सक्ने बताएको छ।

हाई नेगोसिएसन कमिटीले असद र वर्तमान नेतृत्वको कुने भूमिका नभएको अन्तरिम सरकार स्थापना गर्ने प्रयास गर्ने पनि बताएको थियो।

विदेशी प्रतिक्रिया

अमेरिकी विदेश मन्त्री जन केरीले डमस्कसलाई वार्ता बिथोल्न खोजेको आरोप लगाएका छन् भने फ्रान्सेली विदेश मन्त्री जाँ मार्क आयरोले सिरियाको यस्तो उक्तीले नराम्रो संकेत गरेको र युद्धविरामको सारलाई नअंगालेको बताएका छन्।

वार्तामा दुई पक्षको प्रत्यक्ष कुराकानी हुने छैन। डा मिस्तुराले सरकारी पक्षलाई भेटेर वार्ताको शुरुवात गर्नेछन्।

यो भन्दा अगाडी डा मिस्तुराले आईतबार फ्रान्स, जर्मनी र ब्रिटेनका विदेश मन्त्रीहरुलाई भेटेका थिए।

जिनिभाबाट बीबीसी संवाददाता बेथनी बेलले वार्ताबाट कमै अपेक्षा गरिएको बताएकी छन्।