नेपाली कांग्रेसको नेतृत्व ‘न्यून’ समावेशी

  • 15 मार्च 2016
तस्वीर कपीराइट .

देशकै सबैभन्दा पुरानो र ठूलो लोकतान्त्रिक दल भनिने नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय समिति अपेक्षाकृत समावेशी बन्न नसकेको देखिएको छ।

समावेशीका लागि भन्दै निर्धारण गरिएको कोटा थोरै रहेको र खुल्ला पदका निम्ति नेता धेरै पद थोरै भएका कारण महिला, जनजाति, दलित र मधेशी पर्याप्त निर्वाचित हुन नसकेको कतिपय नेताहरुले बताएका छन्।

अब मनोनित गर्न बाँकीमा ध्यान दिइनुपर्ने र महासमितिमार्फत विधान संशोधन गरिनुपर्ने उनीहरुको सुझाव छ।

राज्यका सबै अंगमा ३३ प्रतिशत महिलाको सहभागितालाई सुनिश्चित गरिएको छ।

प्रतिनिधित्व

त्यस्तै हरेक निकायमा समानुपातिक समावेशी अनुसार प्रतिनिधित्व गरिने व्यवस्था छ।

तर कांगेसको सोमबार प्रकाशित अन्तिम नतिजा अनुसार समावेशी कोटालाई जोड्दा समेत कुल ६४ पदमा कोषाध्यक्षसहित १४ जना महिला, ११ जना जनजाति, ७ जना मधेशी, ५ जना दलित र १ जना मुस्लिम निर्वाचित भएका छन्।

दलित कोटाबाट निर्वाचित केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा पछिल्लो परिणामले समावेशीको अवधारणालाई समेट्न नसकेको बताउँछन्।

तस्वीर कपीराइट .

उनी भन्छन्, “२५ जना खुल्लातर्फ नेताहरुले समावेशीकरणको भावनालाई आत्मसाथ गरेको देखिएन किनकि त्यसमा दलित र महिलाहरुले प्रतिस्पर्धा गरेर जित्ने अवस्था रहेन।”

अपेक्षाकृत

नेतृत्व तह पुरानै सोचमा रहेका कारण अपेक्षाकृत समावेशीकरण हुन नसकेको कतिपय नेताहरु बताउँछन्।

गत केन्द्रीय समितिमा महिला कोटाबाट निर्वाचित भएपनि यसपटक खुल्ला सदस्यमा पराजित महालक्ष्मी उपाध्याय डिना भन्छिन्, “अहिले पनि नेतृत्व तहले हेर्ने दृष्टिकोण तिमीहरुलाई छुट्याइदिएको छ त्यो ठाउँ त्योभन्दा बाहिर नआओ भन्ने महसुस गरेँ, त्यसले गर्दानै सहभागितामा वृद्धि हुन सकेन।”

अब २१ जना मनोनयन गर्न बाँकी रहेको र ती पदमा मनोनयन गर्दा नेताहरुले उच्च प्राथमिकता दिइनुपर्ने उनीहरु बताउँछन्।

विधानमै परिवर्तन गरेर पदको संख्या बढाउन सकेमात्रै वास्तविक समावेशीकरणको अनुभूति हुने उनीहरुको धारणा छ।