पुटिनद्वारा सिरियाबाट फर्कन सेनालाई आदेश

  • 15 मार्च 2016
तस्वीर कपीराइट TV Russia 1

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अप्रत्यासित रुपमा सिरियाबाट आफ्ना अधिकांश सैनिकलाई मंगलबारदेखि स्वदेश फिर्ता हुन आदेश दिएका छन्।

रुसी हस्तक्षेपले ठूलो स्तरमा आफ्नो उद्देश्य हासिल गरेको पुटिनले उल्लेख गरेका छन्।

५ वर्षदेखि जारी सिरियाली गृहयुद्ध अन्त्य गर्ने उद्देश्यका साथ जिनिभामा हुन लागेको शान्ति वार्तामाझ रुसले आफ्ना सेना फिर्ता बोलाउने घोषणा गरेको छ।

रुस सिरियाली राष्ट्रपति बशर अल असादको महत्वपूर्ण सहयोगीको रुपमा रहिआएको छ।

आंशिक फिर्ती

तस्वीर कपीराइट AP

एउटा वक्तव्यमा असादको कार्यालयले रुसी सेनाको फिर्तीप्रति राष्ट्रपतिको सहमति रहेको जनाएको छ।

सिरियाली अवस्थालाई हेरेर रुसी सेना फिर्ता हुन लागेको वक्तव्यमा उल्लेख छ।

सिरियाली सरकारको पक्षमा रुसले गत सेप्टेम्बरमा विद्रोहीविरुद्ध हवाई आक्रमण शुरु गरेको थियो।

रुसी रक्षा मन्त्रालयले आफ्नो सेनाले गरेको हवाई आक्रमणले सिरियाली सेनालाई ४०० भन्दा बढी शहर र गाउँमाथि पुनः नियन्त्रण कायम गर्न सघाएको बताएको छ।

अमेरिकी राष्ट्रपति बराक ओबामाले सिरियाबाट आंशिक रुपमा सेना फिर्ता बोलाउने पुटिनको निर्णयबारे टेलिफोन वार्ता गरेका छन्।

राजनीतिक संक्रमण

तस्वीर कपीराइट AP

वार्तामा उनले सिरियामा पूर्णरुपमा आक्रमण बन्द गराउन अब आवश्यक हुने आगामी कदमबारे पुटिनसँग छलफल गरेको ह्वाइट हाउसले जनाएको छ।

ब्रिटिश विदेशमन्त्री फिलिप हामण्डले सिरियामा राजनीतिक संक्रमणप्रति प्रतिबद्धता व्यक्त गरिएको हो भने रुसी कदम सकारात्मक हुन सक्ने बताए।

जर्मन विदेशमन्त्री फ्रयांक भाल्टर स्टाइन्मायरले रुसी कदमले अन्ततः गम्भीर संवादमा सहभागी हुन असादमाथि दबाब श्रृजना गर्न सक्ने बताएका छन्।

सिरियाली विपक्षीहरुमध्येको प्रमुख समूहले पनि रुसी निर्णयको स्वागत गरेको छ।

उच्च वार्ता समितिका एकजना प्रवक्ताले मस्कोले आफ्नो सेना फिर्ता बोलाएको खण्डमा राजनीतिक सहमतिमा पुग्न असादमाथि दबाब बढ्ने बताएका छन्।