पाकिस्तानमा बसमा विष्फोट: १५ को मृत्यु

  • 16 मार्च 2016
तस्वीर कपीराइट AFP

पाकिस्तानको उत्तर-पश्चिमी शहर पेशावरमा एउटा बसमा राखिएको बम विष्फोट हुँदा कम्तिमा १५ जनाको ज्यान गएको छ।

अरु ३० जना घाइते भएका छन् र धेरैको अवस्था गम्भीर रहेको बताइएको छ।

सरकारी कर्मचारीहरु कार्यालय जानका लागि बस चढ्दै गर्दा सो विष्फोट भएको थियो।

बिहानको व्यस्त समयमा उक्त बस एउटा मुख्य सडकमा भएको बेला विष्फोट भएको थियो।

निशाना

तस्वीर कपीराइट AFP

टेलिभिजनहरुले उक्त बस आंशिक रुपमा क्षतिग्रस्त भएको र केही घाइतेहरुलाई अस्पताल लगिएको दृश्यहरु देखाएका थिए।

राज्य नियन्त्रित रेडियो पाकिस्तानको वेबसाइटमा राखिएको एउटा विज्ञप्तिमा प्रधानमन्त्री नवाज शरीफले भनेका छन, “यस्ता कायरतापूर्ण कदमले देशबाट आतंकवादलाई निर्मूल पार्ने हाम्रो प्रतिबद्धतालाई डगमगाउन सक्दैन।”

पाकिस्तानी सेनाले अफगान सिमाना नजिकै रहेका तालिबान लगायतका लडाकु समूहविरुद्ध आफ्ना कारवाही तीव्र पारेको संवेदनशील क्षेत्रमा उक्त विष्फोट भएको हो।

घटनाको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन।

तर पेशावरलाई यसअघि पनि पाकिस्तानी तालिबानले निशाना बनाउँदै आएका छन्।

सन् २०१४ को डिसेम्बर महिनामा पेशावरको एउटा सैनिक विद्यालयमा १५० जनाको ज्यान जानेगरी भएको खतरनाक हमलापछि गतवर्ष उक्त शहरमा लडाकु हमलाका घटनामा धेरै कमी आएको थियो।

तर यो वर्ष फेरि सो क्षेत्रमा आतंकवादी हमलाका घटना बढेका छन्।