म्यानमारमा मन्त्रीमण्डलको आकार घटाइने

  • 17 मार्च 2016
तस्वीर कपीराइट Reuters

म्यानमारमा नवनिर्वाचित सरकारले देशको मन्त्रीमण्डलको आकार नाटकीय रुपमा घटाउने घोषणा गरेको छ।

मन्त्रीमण्डलको आकार ३६ बाट २१ मा घटाउने निर्णय गरिएको छ।

२१ जना मन्त्री मध्ये १८ जनालाई बहुमत ल्याएको पार्टी न्याशनल लीग फर डेमोक्रेसीले नियुक्त गर्नेछ भने बाँकी ३ जनालाई सेनाले मनोनित गर्ने छ।

जातीय मामिला मन्त्रीको पद भने थपिंदैछ।

परिवर्तन

मन्त्रीहरुको नाम आगामी केही दिनमा घोषणा गरिनेछ।

यो सरकार म्यानमारमा ५२ वर्ष पछिको पहिलो प्रजातान्त्रिक रुपमा चुनिएको सरकार हो।

यो सरकारको साँचो नेतृत्व न्याशनल लीग फर डेमोक्रेसीकी नेतृ आङ साङ सू चीको हातमा हुने ठानिएको छ।

मंगलबार संसदले सू चीका निकट सहयोग टिन चोलाई राष्ट्रपति चुनेको थियो।

सू चीले भद्दा देखेको सरकारको संरचनालाई छरितो बनाउनका लागि यी परिवर्तनहरु गर्न लागिएका हुन्।

विगतमा सू चीले समावेशी सरकारको कुरा गरेकी थिइन्।

त्यसैले उनले अरु पार्टीबाट कति जनालाई सरकारमा समावेश गर्छिन्, त्यो सबैले चासोपूर्वक हेर्नेछन्।

सबै मन्त्रालय भने सू चीको नियन्त्रणमा हुने छैनन्।

गृहमन्त्री, सिमाना मामिलामन्त्री र रक्षा मन्त्री भने म्यानमारका सैनिक प्रमुखले चुन्नेछन्।