जुमाद्वारा आफ्नो बचाउ

  • 17 मार्च 2016
तस्वीर कपीराइट AFP

दक्षिण अफ्रिकाका राष्ट्रपति जेकब जुमाले आफूमाथि गहिरो प्रभाव रहेको भनिएको एउटा परिवारसँग मन्त्री नियुक्त गर्न सक्ने सामर्थ्य रहेको भन्ने आरोपको कडा रुपमा खण्डन गरेका छन्।

उनले आफू एक्लैले सरकारका सदस्यहरु चयन गरेको बताए।

बुधवार एक जना वरिष्ठ नेता म्केबीसी जोनासले आफूलाई एउटा परिवारले अर्थमन्त्रीको पद प्रस्ताव गरेको बताएका थिए।

राष्ट्रपति जुमाले गुप्ता परिवारको उनीमाथिको प्रभावलाई लिएर संसदमा कडा प्रश्नहरुको सामना गर्नुपरेको थियो।

विवाद

सभामुखले आफ्नो सिटमा बस्न आग्रह गर्दा अस्विकार गरेका आफ्ना नेतालाई बाहिर जान अदेश दिएपछि विपक्षी डेमोक्रेटिक एलायन्सका सदस्यहरुले संसदको बैठक बहिस्कार गरेका थिए।

त्यसपछि जवाफ दिएका राष्ट्रपति जुमाले उनी एक्लैले मन्त्री नियुक्त गर्ने भन्दै कुनै पनि परिवारको प्रभाव आफूमाथि नरहेको स्पष्टिकरण दिए।

यसअघि अर्थ सहायक मन्त्री म्केबीसी जोनासले गुप्ता परिवारले अघिल्लो वर्ष आफूलाई अर्थमन्त्रीमा बढुवा गर्ने प्रस्ताव गरेको बताएका थिए।

तस्वीर कपीराइट

त्यसपछि सतारुढ अफ्रिकन न्याश्नल कँग्रेसका तेश्रो शक्तिशाली नेताले दक्षिण अफ्रिका माफिया राज्यमा परिणत हुने खतरा रहेको चेतावनी दिएका थिए।

सो परिवारले उक्त आरोपको खण्डन गरेको छ।

पछिल्लो समयमा राष्ट्रपति जुमाको कार्यकाल गहिरो आर्थिक संकटका माझ भ्रष्टाचार, नातावाद र असक्षमतामा फस्दैँ गएको आरोप लाग्दै आएको छ।

संसदमा विपक्षी सांसदहरुले उक्त आरोपबारे प्रश्न उठाएपछि जुमाले भने, “सरकारको नेतृत्वकर्ता म हुँ र गुप्ता परिवारले कुनै पनि मन्त्री हालसम्म नियुक्त गरेको छैन्।”

'जुप्टाज'

विपक्षीहरुले लामो समयदेखि राष्ट्रपति जुमाले गुप्ताहरुलाई बढी प्रभुत्व कायम गर्ने अवसर दिएको आरोप लगाउने गरेका छन्।

सन् १९९३ मा भारतबाट दक्षिण अफ्रिका पुगेका गुप्ताहरुको कम्प्युटर, उड्ययन, उर्जा र प्रविधि क्षेत्रमा गहिरो रुचि रहेको छ।

राष्ट्रपति जुमाकी एक जना श्रीमती एक जना गुप्ताहरुको स्वामित्वमा रहेको खानी कम्पनीमा सञ्चार अधिकृतका रुपमा काम गर्ने गर्थिन भने उनका एक जना छोरा गुप्ताहरुले खोलेको कम्पनीमा निर्देशकका रुपमा कार्यरत छन्।

सन् २०१३ मा गुप्ता परिवारको विवाहका अतिथि चढेको एउटा निजी जेटलाई प्रिटोरीयाको सैन्य हवाई अड्डामा अवतरण गर्न अनुमति दिइएपछि जुमाको चर्को आलोचना भएको थियो।

विपक्षीहरुले राष्ट्रपति जुमा र गुप्ताबीचको सम्बन्ध एकदमै गहिरो रहेकाले उनीहरुलाई ‘जुप्टाज’ भन्ने उपनाम दिइएको बताएका छन्।