‘राष्ट्रिय आयोजनाको प्रगतिमा बाधा’

  • 18 मार्च 2016
तस्वीर कपीराइट no credit

चालू आर्थिक वर्षको ८ महिना पूरा भइसक्दा पनि राष्ट्रिय गौरवका आयोजनाहरुले विनियोजित रकमको आधा हिस्सा पनि खर्च गर्न नसकेको अधिकारीहरुले बताएका छन्।

भूकम्प र भारतसँगको सीमा नाकामा उत्पन्न अवरोधले थलिएको नेपालको पूर्वाधार विकास क्षेत्र ठेकेदारको लापरवाही र स्थानीय तहमा अख्तियारी दिन हुने गरेका ढिलाइले थप मारमा परेको अधिकारीहरु बताउँछन्।

राष्ट्रिय योजना आयोगको आँकडा हेर्ने हो भने मुलुककै गौरवका रुपमा हेरिएका आयोजनामा समेत छुट्याइएको रकमको आधा अंश पनि खर्च हुन सकेको छैन।

आयोगका उपाध्यक्ष युवराज खतिवडाले भने, “सडकमा प्रगति राम्रो छ, विद्युतमा राम्रो छैन, खानेपानीमा अपेक्षाभन्दा पछाडि छ, अरु आयोजनाहरु ठिकै छन्, अहिले फागुन मसान्त सम्ममाकरिब करिब ४० देखि औसतमा ५० प्रतिशतको बीचमा भएको होला।”

चिन्ता

विनियोजित रकम समयमा खर्च हुन नसक्दा आयोजना पूरा गर्न ढिलो हुनेमात्रै नभई लागत करोडौं रुपैयाँले बढ्न सक्ने भन्दै चिन्ता व्यक्त भएका छन्।

ढिलाइ हुनुमा परम्परागत समस्या औल्याउँदै आयोगका उपाध्यक्ष खतिवडाले भने, “ठेक्का लागेपछि पनि ठेकेदारले काम नगरिदिने, एक वर्षमा सकिने कामलाई चार वर्ष लगाइदिने, यो ठेकेदारीसँगको समस्या हो, सरकारी समस्या भनेको चाहिँ मन्त्रालयले निकायहरुलाई अख्तियारी नदिने, ठेक्कापट्टाको कागजहरु ढिलो बनाउने हो, अर्को समस्या भनेको निर्माण सामाग्री, कामदार नपाउने, अनि कहिले ठेकेदार र सरकारका विचमा विवाद हुनेजस्ता समस्या छन्।”

जलविद्युत, सिँचाइ, खानेपानी, विमानस्थल र रेलमार्ग जस्ता लागतका आयोजनालाई सरकारले राष्ट्रिय गौरवको सूचीमा राखेर द्रुत गतिमा काम थाल्ने नीति बनाएको हो।

तर प्रायजसो लक्ष्यभन्दा निकै ढिलो मात्रै पूरा भएका पुरानै आयोजनाहरुको नियति पनि राष्ट्रिय गौरवका आयोजनाहरुले भोगिरहेको देखिन्छ।

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना मध्यपहाडी लोकमार्ग बुढीगण्डकी र पश्चिम सेती जलविद्युत आयोजना, लुम्बिनी विमानस्थल र काठमाण्डू पूर्वी राजमार्ग केही ठुला आयोजनाहरु हुन्।