‘यमनमा गठबन्धन फौजले कारवाही कम गर्ने'

  • 18 मार्च 2016
तस्वीर कपीराइट .

साउदी अरेबियाले आफ्नो नेतृत्वको गठबन्धन फौजले यमनमा विद्रोहीविरुद्धको कारवाही क्रमशः कम गर्दै लैजाने बताएको छ।

खासगरी अमेरिकी समर्थन प्राप्त अरब मुलुकहरुको गठबन्धनले अन्तर्राष्ट्रिय मान्यता पाएको यमन सरकारको पक्षमा एक वर्षअघि हवाई आक्रमण शुरु गरेको थियो।

रियादमा गठबन्धन फौजका प्रवक्ता ब्रिगेडियर जनरल अहमद अल अस्सिरीले एक वर्षयता जारी महत्वपूर्ण कारवाहीको अब अन्तिम चरणमा पुग्न लागेको बताए।

उनले यमनको सरकारी फौजलाई हवाई कारवाहीमा गठबन्धन फौजले सहयोग जारी राख्ने उल्लेख गरे।

मध्यस्थता

तस्वीर कपीराइट AFP

कारवाही सकिएपछि यमनको सेनालाई प्रशिक्षण र सैन्य सल्लाह दिनका निम्ति सानो संख्यामा गठबन्धन फौज रहने उनले बताए।

ह्वाइट हाउसका एकजना प्रवक्ताले यमनमा राजनीतिक समाधान खोज्नुपर्नेमा अमेरिकी विश्वास रहेको र त्यही भएर सबै पक्षलाई अन्तर्राष्ट्रिय मध्यस्थताको शान्ति वार्तामा फर्किन आग्रह गरिएको बताए।

सय जनाभन्दा बढीको ज्यान जाने गरी एउटा बजारमा मंगलबार गरिएको हवाई आक्रमणको चर्को आलोचना भइरहेका बेला गठबन्धन फौजको पछिल्लो निर्णय सार्वजनिक भएको छ।

प्रत्यक्षदर्शीहरुका अनुसार राजधानी सानादेखि उत्तरमा पर्ने शिया हूथी विद्रोहीको नियन्त्रणमा रहेको हाज्जा प्रान्तको मुस्ताबा जिल्लाको एउटा व्यस्त बजारमा कम्तीमा दुईवटा क्षेप्यास्त्र प्रहार गरिएको थियो।

निशाना

तस्वीर कपीराइट Reuters

आक्रमणपछिको भनिएका भिडियो फुटेजमा मृतकहरुमा धेरै बालबालिकाहरु पनि देखिन्थे।

संयुक्त राष्ट्रसंघका अधिकारीहरुका अनुसार घटनामा २२ जना बालबालिकाको ज्यान गएको थियो।

गत जनवरीमा एउटा राष्ट्रसंघीय समितिले गठबन्धन फौजले यमनमा सर्वसाधारणलाई पनि निशाना बनाउने गरेको पाइएको र त्यो मानवताविरुद्धको अपराध हुन सक्ने निष्कर्ष निकालेको थियो।

युद्धका कारण यमन खण्डित भएको छ भने उक्त मुलुकले मानवीय संकट झेलिरहेको छ।