आमाको पद-चिन्ह पछ्याउँदै परोपकारमा राजकुमार ह्यारी

  • 19 मार्च 2016
तस्वीर कपीराइट AFP
Image caption राजकुमार ह्यारी अफगानिस्तानमा हेलिकोप्टर सहचालक र बन्दुकधारीको भूमिकामा थिए

नेपाल भ्रमणमा रहेका ब्रिटिश राजकुमार ह्यारीले आफ्नी आमाको परोपकारी कामको पद-चिन्ह पछ्याउने ठानिएको छ।

३१ वर्षे ह्यारी ब्रिटिश राजसंस्थाको पाँचौ स्थानमा छन्।

दश वर्षसम्म ब्रिटिश सेनामा काम गर्दा उनलाई क्याप्टेन वेल्स भनेर चिनिन्थ्यो।

त्यसबेला उनी दुइपटक अफगानिस्तानमा तैनाथ ब्रिटिश गतिविधिमा संलग्न भए।

सैन्य अनुभव

अफगानिस्तानमा सन् २०१२-१३ मा हेलिकोप्टरको सहचालक र बन्दुकधारीका रुपमा उनी सहभागी थिए।

सैन्य जीवनबाट अवकाश लिने बेला उनले सैन्य अनुभव जीवनभर आफुसँग रहने बताएका थिए।

स्वयंसेवी भूमिकामा रहने योजनामा रहेका ह्यारीले हेल्प फर हिरोज र एबीएफ द सोल्र्जर्स च्यारीटीको सार्वजनिक रुपमै समर्थन गरेका थिए।

आफ्नी आमा राजकुमारी डायनाको कामलाई पछ्याउँदै उनले अफ्रिकाको यात्रा गरेर एचआइभी र एड्सबाट प्रभावित बालबच्चाका लागि सहयोग गर्न सेन्टिबेल नामको परोपकारी संस्था स्थापना गर्न सहयोग गरेका थिए।

प्रचार

धेरैले नरुचाउने कामका लागि पनि उनी प्रचारमा आएका थिए।

धेरै वर्ष पहिले राजकुमार ह्यारीले गाँजा तानेको दुखद खबर आएको थियो।

सन् २००२ मा सेन्ट जेम्स प्यालेसले सत्र वर्षे राजकुमारले केही मौकाहरुमा लागु औषध परीक्षण गरेको पुष्टि गरेको थियो तर त्यो 'नियमित' थिएन।

सन् २००५ मा अनौठो पोशाक लगाएर मनाइएको जन्मदिनको भोजमा ह्यारीले नाजीहरुको पोशाक लगाएको सार्वजनिक भएपछि ठूलो आक्रोश व्यक्त भएको थियो।

तस्वीर कपीराइट Reuters

क्लेरेन्स हाउसले पछि विज्ञप्ती जारी गर्दै राजकुमार ह्यारीले माफी चाहेको बताएको थियो।

त्यस्तै सन् २००९ मा ह्यारीले उनको सैन्य टुकडीको एशियाली मूलका सदस्यलाई प्रयोग गरेको शब्दहरुको भिडि‌यो फुटेज सार्वजनिक भएपछि त्यहाँ प्रयोग गरिएको अपमानजनक शब्दहरुप्रति क्षमा माग्नु परेको थियो।

ओलम्पिक दूत ह्यारी सन् २०१२ मा लण्डनमा भएको ओलम्पिक खेलमा निरन्तर उपस्थित भएका थिए।

अस्वीकार

सन् २००७ मा सैन्य प्रमुखहरुले तत्कालीन फौजी राजकुमारलाई खतराका कारण इराक लडाईमा पठाउन अस्वीकार गरेका थिए।

त्यसपछि उनले सन २००८ मा अफगानिस्तानमा दश हप्ता विताएका थिए।

तर उनको बाहिर प्रचारमा नल्याइएको तैनाथीको खबर समाचारमा आएपछि उनलाई फर्काउनु परेको थयो।

सैन्य क्षेत्र छोडेपनि ह्यारीले स्वयंसेवकका रुपमा रक्षा मन्त्रालयको घाइते र विरामी सैनिक र महिलाहरुलाई सहयोग गर्ने रिकभरी केपेबीलीटी प्रोग्राममा स्वयंसेवकका रुपमा काम गर्नेछन्।

१५ सेप्टेम्बर १९८४ मा प्याडिङटनस्थित सेन्ट मेरिज अस्पतालमा जन्मिएका उनको पुरा नाम हेनरी चार्ल्स एलबर्ट डेभिड राखिएको थियो तर उनलाई सबैले ह्यारी भनेर चिन्छन्।

उनी आफ्ना दाजु जस्तै इटन कलेजमा भर्ना भएका थिए।

आमाको संझना

सन् १९९८ मा इटन भर्ना भएका उनले कला र भूगोल र इतिहास पढेका थिए।

सेनामा प्रवेश गर्नु अघि उनले एक वर्ष छुट्टि लिएर अष्ट्रेलियाको भेडी गोठमा काम गरेका थिए भने लेसोथोमा उनले सहयोग गरेका टुहुराहरुसँग समय विताएका थिए।

राजकुमारी डायनाको सन् १९९७ मा मृत्यु भएपछि शवयात्रामा रहेका बाह्र वर्षे ह्यारीको मुहार संसारभरका मानिसहरु विर्सन सक्दैनन्।

उनी आफ्नी आमाको शव बोकेको सवारीको पछाडि पछाडि आफ्ना दाजु, बाबु, हजुर बुवा र काकासँगै हिँडेर वेष्टमिन्स्टर एयाबे पुगेका थिए।

एप्रिल २०११ मा दाजु विलियमको विहे हुँदा उनी इशाइ परम्परा अनुसार बेष्ट म्यान थिए र दाजुको विहेमा आफ्नी आमा नहुँदा धेरै दुख लागेको बताएका थिए।