रुसमा अवतरणको क्रममा विमान दुर्घटना

  • 19 मार्च 2016
ब्रेकिङ न्युज

रुसको दक्षिणी शहर रोस्तोभ-अन-दोनमा अवतरण गर्ने क्रममा करिब ६१ जना सवार एक विमान दुर्घटना भएको अधिकारीहरुले बताएका छन्।

उनीहरुका अनुसार विमानमा ५५ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए।

दुबईबाट आएको फ्लाइदुबईको बोइङ ७३८-८०० विमान स्थानीय समय अनुसार बिहान चार बजेतिर अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर आगो लागेको थियो।

दुर्घटनाको कारण थाह भइसकेको छैन, तर त्यस क्षेत्रमा लागेको बाक्लो हुस्सु र हावाहुरी दुर्घटनाको कारक हुनसक्ने मानिएको छ।

उद्धार कार्य

अपुष्ट समाचारहरुमा जनाइएअनुसार विमानमा सवार सबैजनाको मृत्यु भएको छ।

सञ्चारमाध्यमले जनाएअनुसार दुर्घटना स्थलमा करिब एक हजार उद्धारकर्ता खटिएका छन् र आगो निभाइएको छ।

फ्लाइ दुबईले आफ्नो फेसबुक पेजमा दुर्घटनाबारे जानकार रहेको र त्यसबारे उसले अनुसन्धान गरिरहेको उल्लेख गरेको छ।

दुर्घटनापछि रोस्तोभ-अन-दोन शहरतर्फ उडिरहेका विमानहरु अन्यत्र पठाइएको बताइएको छ।