'निर्माण र पर्यटन विकासमा सघाउने'

  • 20 मार्च 2016
तस्वीर कपीराइट AFP
Image caption ब्रिटिश महारानीको प्रतिनिधिको रुपमा आएका राजकुमारले गोर्खा फौजको प्रशंसा गरेका छन्

नेपाल भ्रमणको दोश्रो दिन ब्रिटेनका राजकुमार ह्यारीले आइतबार काठमाण्डू उपत्यकाका केही पुरातात्विक र ऐतिहासिक सम्पदाको अवलोकन गरेका छन्।

भूकम्पले क्षति पुर्याएका सम्पदाबारे चासो देखाएका ह्यारीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको पर्यटन विकासमा पनि सक्ने सहयोग गर्ने बताएका छन्।

राजकुमार ह्यारी दिउँसो ललितपुरस्थित पाटन दरवार क्षेत्र पुगेका थिए।

त्यसक्रममा उनले सर्वसाधारणसँग भलाकुसारी मात्र गरेनन्, सिकर्मीका औजार पनि चलाए।

सन्देश

राजकुमार ह्यारीलाई पाटन दरवार अवलोकन गराएका काठमाण्डू उपत्यका संरक्षण कोष सम्बद्ध पत्रकार कनकमणि दीक्षितले आफ्नो भ्रमणलाई ह्यारीले नेपालको पूनर्निर्माण र पर्यटन विकासमा प्रयोग गर्न चाहेको टिप्पणी गरे।

उनका भनाईमा अन्तर्राष्ट्रिय स्तरका सांस्कृतिक पाहुना आउने क्रम टुटेको लामो अन्तरालपछि ह्यारीको भ्रमणले भूकम्प, नाकाबन्दी र द्वन्द्वपछि नेपाल खुला र सुरक्षित रहेको सन्देश दिएको छ।

दीक्षितले भने, "नेपालको अहिलेको आवश्यकता विकाश र पुनर्निर्माण हो भन्ने कुरा राजकुमारले राम्ररी बुझे जस्तो लाग्यो।"

दुई देशबीच सम्बन्ध स्थापना भएको २ सय वर्ष गाँठको अवसरमा ब्रिटिश महारानीका प्रतिनिधिको रुपमा राजकुमार नेपाल आएका हुन्।

हिजो प्रधानमन्त्रीलाई भेटेका उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन्।

साधारण

भेटमा राजकुमार ह्यारीले भनेका कुरा सुनाउँदै राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ पूर्वपरराष्ट्र सचिव मदन भट्टराईले भने, "गाउँ जान्छु, ट्रेकिङमा पनि जान्छु, नेपालको पर्यटन विकाशमा मैले गर्ने सबै सहयोग गर्छु।"

राष्ट्रपतिलाई भेट्न औपचारिक पोशाकमा ठाँटिएका राजकुमार ह्यारी ऐतिहासिक स्थलमा भने साधारण पहिरनमा पुगेको देखियो।

पत्रकार दीक्षित भन्छन्, "राजकुमारको पहिरण एकदम सादा र हाउभाव साधारण र सर्वसाधारणसँग बोलिचाली र उठ-बस सहज लाग्यो।"

पाटन दरवार क्षेत्रको भ्रमणकै बेला राजकुमार ह्यारीले पुनःनिर्माणकानिम्ति काठमा मूर्ति कुँदन तल्लिन कालीगढका औजार पनि चलाएका थिए।

उनले बर्दिया, पोखरा र लमजुङ्को पनि भ्रमण गर्ने योजना छ।