आप्रवासीबारेको सहमति कार्यान्वयन

  • 20 मार्च 2016
तस्वीर कपीराइट
Image caption आप्रवासी नियन्त्रण गर्नेबारेको नयाँ सहमति कार्यान्वयनमा आएको छ

युरोपियन युनियन र टर्कीबीच आप्रवासी समस्या नियन्त्रण बारे गरिएको सहमति औपचारिक कार्यान्वयनमा आएको छ।

यो सहमति अनुसार ग्रीस आइपुग्ने आप्रवासीहरुले शरणका लागि आवेदन नगरेमा अथवा उनीहरुको दावी अस्वीकार भएमा उनीहरुलाई टर्की फिर्ता पठाइनेछ।

ग्रीक टापुमा जाने मानिसहरुको संख्या अहिले नै बढिसकेको छ। र ग्रीसले तत्काल सहमति कार्यान्वयन गर्न नसक्ने जनाएको छ।

आइतबार ग्रीसको लेसबोस टापुमा आइपुगेकाहरुलाई स्वयंसेवकहरुले नयाँ नियम लगाएर व्यवस्थापन गरिरहेका थिए।

आशंका

सहमति कार्यान्वयनमा आउनु केही घण्टा अघि मात्र आप्रवासी बोकेको एउटा डुंगा टर्कीको समुन्द्री तट नजिकै डुब्दा एउटी चार महिने बालिकाको डुबेर मृत्यु भएको टर्कीको एजेन्सीले जनाएको थियो।

सहमति अनुसार हरेक सिरियाली आप्रवासीलाई टर्की फिर्ता पठाइनेछ।

तस्वीर कपीराइट Getty
Image caption जनवरी २०१५ यता मात्र दश लाख भन्दा बढि आप्रवासीहरु युरोप आइपुगेका छन्

यस अघि नै टर्की आइपुगेका एकजना सिरियालीलाई भने इयूमा पुनर्वास गराइनेछ।

यद्यपी सहमति कार्यान्वयन हुनेमा धेरै शंकाहरु छन्।

आप्रवासीहरु कसरी फिर्ता पठाइने हुन्? भन्नेमा पनि आशंका छ।

यो सहमति पछि टर्कीबाट ग्रीस जाने खतरापूर्ण समुन्द्री यात्रा गर्न मानिसहरु दुरुत्साहित हुने आशा राखिएको छ।

त्यसको बदलामा टर्कीले आर्थिक सहयोग र राजनीतिक सहुलियत पाउनेछ।

आरोप

इन्टरन्याशनल अर्गनाइजेशन फर माइग्रेशनका अनुसार जनवरी २०१५ यता मात्र दश लाख आप्रवासी र शरणार्थीहरु डुंगायात्राबाट टर्की हुँदै ग्रीस प्रवेश गरिसकेका छन्।

यो वर्ष मात्रै एक लाख ४३ हजार आएको र ४ सय ६० जनाले ज्यान गुमाएको बताइएको छ।

तर आलोचकहरुले यो सहमतिले कुनै हालतमा युरोप पुग्ने मनस्थितिमा रहेका आप्रवासीहरु झन खतरापूर्ण वैकल्पिक मार्गहरु जस्तो कि उत्तर अफ्रिका हुँदै इटलीको यात्रामा निस्कन सक्ने बताएका छन्।

मानव अधिकारवादी समुहहरुले सहमतिको कडा आलोचना गरेका छन्।

एमनेष्टी इन्टरन्याशनलले इयूले ‘विश्वव्यापी शरणार्थी समस्याप्रति पीठ फर्काएको’ आरोप लगाएको छ।