प्रधानमन्त्री चीनमा, सोमबार महत्वपूर्ण भेटघाट

  • 20 मार्च 2016

महेश आचार्य

बीबीसी नेपाली, बेइजिङ

तस्वीर कपीराइट Reuters
Image caption प्रधानमन्त्री के पी ओलीले चीनमा राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्नेछन्

प्रधानमन्त्री केपी ओली आफ्नो एकसाता लामो औपचारिक चीन भ्रमणका लागि ठूलो टोलीसहित आइतबार बेइजिंग पुगेका छन्।

करिब आधा दर्जन दुई पक्षीय सम्झौता र समझदारीमा हस्ताक्षरको तयारी भएको बताइएको ओलीको चीन बसाइको सबैभन्दा महत्वपूर्ण दिन सोमबार उनले चिनियां राष्ट्रपति र प्रधानमन्त्रीसंग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्।

आइतबार बेइजिंग उत्रदै गर्दा ओली, २०६२, ०६३ को जनआन्दोलनपछि उत्तरी छिमेकी चीनको औपचारिक भ्रमण गर्ने दोस्रो नेपाली प्रधानमन्त्री बनेका छन्।

जनआन्दोलनयताका ८ सरकारप्रमुखमध्ये केही, अन्य कार्यक्रममा चीन पुगेपनि ओलीकै दल एमालेका माधवकुमार नेपालबाहेकलाई उत्तरी छिमेकीको औपचारिक दुईपक्षीय दौडाहाको मौका जुरेको थिएन।

अपेक्षा

तर ओलीलाई उनको चीन बसाइ अरुको तुलनामा सहज भने हुनेछैन किनभने यो भ्रमणको चर्चा सुरु भए यतानै राजनीतिक नेतृत्व र कतिपय सरकारी उच्चअधिकारीले यसको प्रचार यस्तो ढंगले गरेको देखियो जसले नेपालको ठूलो हिस्सामा स्वाभाविक अपेक्षाहरु पलाए।

खासगरी भारतीय सीमा नाका अवरोधको पृष्ठभूमिमा इन्धनको व्यापारिक खरिदका लागि उत्तरतिरको पनि विकल्प खुल्ने अपेक्षा धेरैले राखे।

चीनबाट ल्याउंदा भारतीय इन्धनभन्दा महंगो पर्ने, आपूर्तिका पर्याप्त पूर्वाधार नभएका जस्ता पक्षलाई सम्बोधन गर्नुपर्ने स्वयम् अधिकारीहरुले औल्याइरहंदा इन्धन खरिदबारे अन्योल छाएको छ।

तेस्रो मुलुकबाट वस्तु आयात निर्यातका लागि भारतीय बन्दरगाहामा मात्रै आश्रित नेपालका लागि महत्वपूर्ण ठानिएको पारवहन सम्झौताको कार्यसूची पनि ओलीको चीन बसाइमा छ।

परिणाम

चीनका लागि नेपाली राजदूत महेश मास्केको बुझाइमा पारवहन सम्झौता महत्वपूर्ण नीतिगत पाइला हुनेछ तर आलोचकहरु भन्छन्, बन्दरगाह पहिचान लगायतका विषयले व्यवहारिक रुप पाउन थप चरणहरु पार गर्नुपर्ने भएकाले उक्त सम्झौताको परिणाम तत्काल भने देखिने छैन।

अन्तरदेशीय प्रसारण लाइन, जलविद्युत विकास, ब्याकिंग सूचना आदानप्रदान, इन्धन भण्डारण स्थल निर्माण लगायतका विषय पनि प्रधानमन्त्रीको भ्रमण सूचीमा छन्।

ओलीले सोमबार चिनियां समकक्षी ली खछ्यांगसंग भेटेपछि करिब आधा दर्जन सम्झौता र समझदारीपत्रमा हस्ताक्षरको योजना छ।

सोमबार नै चिनियां राष्ट्रपति सी जिंगपिंगसंग भेट्ने ओलीले मंगलबार बेइजिंगस्थित एउटा विश्वविद्यालयमा प्रवचन दिनेछन् र चिनियां व्यापारीहरुसंग अन्तक्रिया गर्नेछन्।

आलोचना

त्यसपछिका दिनहरुमा उनी आर्थिक मञ्च बोआओ फोरममा सहभागी हुनेदेखि लिएर भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण भएको स्थल सिचुवान प्रान्तको वेनछुवान पुग्नेछन्।

केही दिन यस्ता व्यस्ततामा दिन बिताउने ओलीको, भ्रमणटोलीको ठूलो आकार भएको, असम्बन्धित मन्त्री र राजनीतिक नियुक्ति पाएका कतिपय सहयोगी पनि सहभागी भएको भन्दै भ्रमणपूर्व नै व्यापक आलोचना सुनिएका छन्।

कूटनीतिक स्रोतहरुले ओलीको भ्रमण टोलीमा ९० सदस्य रहेको पुष्टि त गरेका छन् तर ती सबैको खर्च कसरी बेहोरिनेछ, त्यो भने प्रष्ट छैन।