द्रुतमार्ग स्वदेशी लगानीमै बनाउने प्रस्ताव

  • 21 मार्च 2016
Image caption विज्ञहरुले एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेको नेपालले वैकल्पिक संरचना तयार गर्नुपर्नेमा जोड दिंदै आएका छन्।

स्वदेशी लगानीमा नै निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तथा काठमाण्डू-तराई द्रुतमार्ग निर्माण गर्न अर्थ समितिले निर्देशन दिएपछि त्यसबारेको मन्त्रिपरिषद्ले निर्णय गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले बताएका छन्।

संसदको अर्थ समितिले स्वदेशी पुँजीबाटै राष्ट्रिय गौरवका ती दुई आयोजना निर्माण गर्न निरन्तर दवाव दिने बताएपछि उनको त्यस्तो भनाई आएको हो।

एक आपसमा जोडिएका उक्त आयोजना एकसाथ अघि बढाउनुपर्ने लगानी बोर्डको सुझाव बमोजिम पर्यटन मन्त्रालले नयाँ प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा बुझाएको बताइन्छ।

स्वदेशी लगानीमा ती आयोजनाहरु निर्माण गर्दा हाल प्रस्ताव गरिएको लागतको ठूलो धनराशी बचत हुने अधिकारीहरु बताउँछन्।

निर्देशन

अर्थ समितिको निर्देशन मान्न सरकार नैतिक रुपले बाध्यकारी हुने भन्दै समितिका सभापति प्रकाश ज्वालाले त्यसलाई कार्यान्वयन गराउन निरन्तर रुपमा लाग्ने बताएका छन्।

आइतवार बसेको संसदको अर्थ समितिले विमानस्थल र द्रुतमार्गको निर्माण कार्य तत्काल अगाडि बढाउन सरकार, अर्थ मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको थियो।

समितिका सभापति प्रकाश ज्वालाले भने,"अब यसलाई अगाडि बढाउने हाम्रो अभियान शुरु भयो। जुनसुकै विकल्प र प्रयत्नहरु गरेर भएपनि यी परियोजना अगाडि बढाउन हामी निरन्तर रुपमा लागिरहन्छौं।"

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि स्वदेशी लगानीमै उक्त परियोजना पुरा हुन सक्ने बताउँदै स्वदेशी लगानीकर्ता र अर्थ मन्त्रालय समेत त्यसको लागि सकारात्मक भइसकेको बताएको छ।

लगानी

पर्यटनमन्त्री आनन्द पोखरेलले भने ,"फास्ट ट्रयाक र निजगढ विमानस्थल निर्माणको स्वीकृति एकैपल्ट गर्नु पर्छ भनेर प्रधानमन्त्रीले भनेका कारणले हामीले विधिवत रुपमा मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरिसकेका छौं। प्रधानमन्त्री चीनबाट फर्किने बितिक्कै यो प्रक्रिया अगाडि बढ्छ।"

नेपालको दोस्रो ठूलो विमानस्थलको रुपमा रहने निजगढ विमानस्थल निर्माणका लागि दक्षिण कोरियाको कम्पनी एलएमडब्लुले तथा काठमान्डू तराई द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन डीपीआर भारतीय कम्पनी आइएल एण्ड एफएसले गत वर्ष नै तयार गरिसकेका छन्।

निजगढ विमानस्थल बनाउन ७ खर्ब रुपैयाँ तथा द्रुत मार्ग बनाउन झन्डै साढे एक खर्ब रुपैँया लाग्ने विदेशी प्रस्तावलाई निकै महंगो भन्दै त्यसको विरोध हुंदै आएको छ।

नेपाली लगानीमा निर्माण हुँदा ठूलै रकम बचत हुने पर्यटन मन्त्रीको दाबी छ।