ओबामा क्युबाको ऐतिहासिक भ्रमणमा

  • 21 मार्च 2016
तस्वीर कपीराइट Reproducao

अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबाको ऐतिहासिक भ्रमण शुरु गरेका छन्।

८८ वर्षयता क्युबाको भ्रमण गर्ने बराक ओबामा पहिलो अमेरिकी बहालवाला राष्ट्रपति हुन्।

सन् १९५९ मा क्युबामा भएको क्रान्तिपछि कुनैपनि अमेरिकी बहालवाला राष्ट्रपतिले क्युबाको भ्रमण गरेका छैनन्।

क्युबाली क्रान्तिपछि द्वीपक्षीय सम्बन्धमा तिक्तता जारी रह्यो।

भेटवार्ता

क्युबामा पाइला टेकेपछि ओबामाले ट्वीट गरेका छन्, “क्युबाली जनतालाई भेट्न र प्रत्यक्षरुपमा उनीहरुका कुरा सुन्न चाहिरहेको छु।”

क्युबा भ्रमणका क्रममा ओबामाले आफ्ना समकक्षी राउल क्यास्ट्रोसँग भेटवार्ता गर्नेछन् तर अवकाशको जीवन बितारहेका क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोलाई उनले भेट्ने छैनन्।

राउल क्यास्ट्रोसँगको भेटवार्तामा ओबामाले व्यापार र राजनीतिक सुधार लगायतका मुद्दामा छलफल गर्ने तय भएको छ।

पत्नी मिशेल, छोरीहरु साशा र मालिआसँगै मुस्कुराउँदै अमेरिकी राष्ट्रपति चढ्ने एयर फोर्स वान विमानबाट ओबामा विमानस्थलमा ओर्लिएका थिए।

‘ऐतिहासिक अवसर’

पानी परिरहँदा आफैंले छाता ओढेका ओबामा दम्पति लगायतलाई क्युबाली विदेशमन्त्री ब्रुनो रोड्रिगुएजले रातो कार्पेटमा स्वागत गरेका थिए।

अवतरण गरेको दुई घण्टापछि ओबामाले क्युबामा हालै पुनः खोलिएको अमेरिकी राजदूतावासका कर्मचारीलाई स्वागत गर्दै आफ्नो भ्रमणलाई ‘एउटा ऐतिहासिक भ्रमण र ऐतिहासिक अवसर’ को संज्ञा दिए।

त्यसपछि उनी पुरानो हवानास्थित एउटा कथिड्रल पुगेका थिए।

संवाददाताहरु भन्छन्, दुई देशको सम्बन्धमा दशकौंयताको तिक्ततापछि ओबामाबाट शुरु भएको भ्रमणलाई ठूलो परिवर्तनको रुपमा हेरिएको छ।