‘विष्फोट बेल्जियमका लागि कालो दिन’

  • 22 मार्च 2016

शुरुमा दुईवटा विष्फोट ब्रसल्सस्थित जावेन्टेम अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा भएका थिए।

घटना लगत्तै त्यहाँको अवस्था अस्तव्यस्त बनेको थियो।

दुईमध्ये एक विष्फोट आत्मघाती हमलाकारीले गरेको हुनसक्ने ठानिएको छ। विवरणहरु अनुसार त्यहाँ कम्तीमा १० जनाले ज्यान गुमाए।

केही बेरपश्चात शहरको केन्द्रमा रहेको भूमिगत मालबेक मेट्रो स्टेशनमा भएको विष्फोटका कारण १५ जनाको ज्यान गएको यातायात अधिकारीहरुले बताएका छन्।

बेल्जियमका प्रधानमन्त्री चार्ल्स मिशेलले विमानस्थल तथा मेट्रो स्टेशनमा भएका आतंकवादी हमलामा परी धेरैको ज्यान गएको अनि थुप्रै गम्भीर घाईते भएको जानकारी दिएका छन्।

उनले ती हमलालाई ‘अन्धाधुन्ध, हिंस्रक र कायरतापूर्ण’ भनेका छन्।

“यो हाम्रो देशका लागि दुखदायी समय हो। म सबैलाई संयमता तथा एकता प्रदर्शन गर्न आग्रह गर्दछु,” उनले भने।

बेल्जियमका अभियोजनकर्ताले ‘शायद आत्मघाती विष्फोटकर्ता’ ले विमानस्थलमा हमला गराएको जनाएका छन्।

सुरक्षा

श्रृंखलाबद्ध विष्फोटपश्चात बेल्जियमभर जोखिमको स्तरलाई सबभन्दा माथिल्लो विन्दुमा पुर्याइएको छ।

फ्रान्सका अधिकारीहरुले ब्रसल्समा भएका विस्फोटनहरु पछि देशको सिमाना र यातायात केन्द्रहरुमा सुरक्षा व्यवस्था कडा तुल्याउन सयौं थप प्रहरीहरु परिचालन गर्ने घोषणा गरेका छन्।

राष्ट्रपति फ्रांस्वा ओलाँदले वरिष्ठ मन्त्रीहरुसंग आपतकालीन बैठक बसेको केही समय पछि नै त्यस्तो घोषणा गरिएको छ।

अन्य युरोपेली देशहरुले पनि सुरक्षा व्यवस्था कडा तुल्याउंदै छन्। ब्रिटेनले आतंकवाद विरोधी गस्तीलाई तीव्र तुल्याएको छ।

ब्रसल्स विस्फोटन प्रति अन्तर्राष्ट्रिय रुपमा निन्दा भैरहेको छ।

युरोपेली आयोगका अध्यक्ष डोनल्ड टस्कले उनकै शब्दमा आतंकवादीहरुले घृणा र हिंसा फैलाउन अर्को निम्नस्तरको कार्य गरेका भनेका छन्।

युरोपेली संघको विदेश मामिला प्रमुख फेडरिका मोगेरिनीले ब्रसल्स विस्फोटनलाई युरोपका लागि एकदमै दु:खको दिन भनेकी छिन्।