बन्दरगाह पहिचानको तयारी गर्न आग्रह

  • 22 मार्च 2016
तस्वीर कपीराइट Reuters

नेपाली व्यवसायीहरुले चीनसँगको पारवहन सम्झौताले नेपाललाई तेस्रो मुलुकमा आयात निर्यातका लागि विकल्प दिएको भन्दै उपयुक्त बन्दरगाह पहिचानका लागि काम छिटो थाल्न सरकारलाई आग्रह गरेका छन्।

भारतबाहेकका मुलुकसंग नेपालले पारवहन सम्झौता गरेको यो पहिलोपटक हो।

विज्ञहरुले चीनसँग जोड्ने यातयात तथा रेलका पूर्वाधार तयार गरेपछि मात्र उक्त पारवाहन सम्झौताबाट नेपालले लाभ लिनसकिने बताएका छन्।

भारतबाहेकका मुलुकको बन्दरगाह प्रयोगका लागि पारवहन सम्झौता गर्नुपर्ने आवश्यकता विगतमा बेलाबेलामा उठ्ने गरेपनि भारतीय सीमा नाका र कोलकाता बन्दरगाहमा हालसालैको अवरोधपछिमात्रै उक्त विषयले तिव्रता पाएको देखिन्छ।

आग्रह

सायद त्यही तिव्रताका कारण हुनसक्छ, प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा पारवहन सम्झौताले एउटा स्वरुप ग्रहण गरेको छ।

प्रधानमन्त्रीको भ्रमण टोलीमै सहभागी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले भने, “अहिलेसम्मको अवस्थामा भारतको कोलकत्ता बन्दरगाहबाट सामान झिकाउनुपर्ने बाध्यता हाम्रो रहेको छ, र यो सम्झौता भएपछि त्यो बाध्यता चाहिँ हटेको छ, हामी चीनको बन्दरगाहलाई पनि प्रयोग गरी सामान ल्याउनसक्छौँ।”

तस्वीर कपीराइट REUTERS

पारवहन सम्झौता भएपनि तत्काल कुन बन्दरगाह उपयुक्त हुन्छ भन्ने चरणमा पुग्न केही समय भने अवश्य लाग्ने छ।

तर व्यवसायीहरुले त्यसलाई छिटो टुंग्याउन आग्रह गरेका छन्।

जानकारहरुको भनाइमा नेपालले प्रयोग गर्न सक्ने चिनियाँ बन्दरगाहामा कुनिमंग, तेन्जिन, सांघाइ, सेन्जेन वा ग्वाञ्जाओ विकल्पका रुपमा छन्।

चिन्ता

तर ती भारतको कोलकाताको तुलनामा निकै टाढा रहेको र बन्दगाहाबाट सामान भित्र्याउन वा त्यहां पुर्याउन सडक मार्ग प्रयोग गर्नुपर्ने भएकाले महंगो पर्नसक्ने चिन्ता पनि व्यवसायीहरुको छ।

तर त्यो चिन्ताको समाधानको उपाय थुप्रै रहेको नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष एवम् नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ बताउँछन्।

उनले भने, “अब यो जुन सिगात्सेसम्म रेल आयो, त्यहाँबाट केरुङमा रेल ल्याउने भनेको छ, हामीले भोलीका दिनमा मालवाहक रेल प्रयोग गर्न सक्यौँ भने जसरी अहिले सुख्खा बन्दरगाह प्रयोग गरिरहेका छौँ त्यसबाट खर्च पनि सस्तो पर्न सक्छ। हामीले सकारात्मक सोचेर जानुपर्यो र सबैले हिम्मत पनि गर्नुपर्यो।”

नेपालले औपचारिक रुपमा केरुंगसम्म आउने रेललाई काठमाण्डू हुँदै पोखरा र लुम्बिनीसम्म पुर्याउन आग्रह गरेको थियो।

चिनियाँ पक्ष त्यसमा सकरात्मक रहेको बताइएका बेला भविष्यमा चीनको बन्दरगाह प्रयोग पनि आर्थिक रुपमा लाभदायक हुने सक्ने कतिपय व्यवसायी ठान्छन्।