नेपाली छापामा चीनसँग भएका सम्झौता

  • 22 मार्च 2016

प्रधानमन्त्री केपी ओलीको बेइजिङ भ्रमणका क्रममा नेपाल र चीनबीच भएका सम्झौताका विषयलाई मङ्लबारका सबै पत्रपत्रिकाहरुले प्राथामिकता साथ पहिलो पृष्ठमा छापेका छन्।

सोमबार भएका सम्झौता तथा समझदारीमा खुला व्यापार क्षेत्रको सम्भाव्यता अध्ययनदेखि लिएर नेपालमा तेल तथा ग्यासको अन्वेषणसम्मका विषय समावेश छन्।

नेपाली पत्रपत्रिकाले बेइजिङमा भएका सहमति र सम्झौताका विभिन्न पक्षहरुको चर्चा गरेका छन्।

साथै त्यहाँ भएका उच्चस्तरीय भेटवार्तामा भएका छलफल र तस्वीरलाई पनि प्रमुखताका साथ स्थान दिएका छन्।

स्वागत

कान्तिपुर दैनिकले “चीनसँग पारवहन सम्झौता” शीर्षक दिएर बक्स र प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिनपीङबीच प्रतिनिधिमण्डलको स्तरमा भैरहेका वार्ताको ठूलो तस्वीर छापेको छ।

उसले लेखेको छ, “पारवाहन सम्झौताबाट तत्कालै प्रत्यक्ष लाभ पाउने अवस्था नभएपनि यो सम्झौता भविष्यमा काजकिस्तान लगायत अन्य मुलुकबाट पेट्रोलियम आयात गर्दा चिनियाँ भूमिको प्रयोग गर्न मार्ग प्रशस्त भएको छ।”

कान्तिपुरले पहिलो पृष्ठमै चिनियाँ राष्ट्रपतिले नेपाल, भारत र चीनबीचको त्रिपक्षीय सहकार्यप्रति चासो व्यक्त गरेको र दुई ठूला छिमेकी मुलुकसँग सुमधुर समबन्ध राख्दै त्यसबाट लाभ लिनुपर्ने धारणा राखेको अर्को समाचार छापेको छ।

तस्वीर कपीराइट Mahesh Acharya BBC

उसले दोस्रो पृष्ठमा ‘ओलीको विशेष उद्देश्य’ शीर्षकको समाचार टिप्पणी प्रकाशित गरेको छ।

कारोबार दैनिकले “नेपाललाई चिनियाँ बन्दरगाहसम्म पहुँच” भन्ने शीर्षकमा मुख्य समाचार छाप्दै पारवाहन सम्झौतामा भएको हस्ताक्षरले भारतीय बन्दरगाहको विकल्प तय भएको उल्लेख गरेको छ।

उपशिर्षकमा भने उसले इन्धनमा भारतीय एकाधिकार कायमै रहेको बिषय उठाएको छ।

द काठमाण्डू पोष्ट दैनिकले नेपालले चिनियाँ बन्दरगाहमा पहुँच प्राप्त गर्ने गरी सम्झौतामा हस्ताक्षर गरेको र प्रधानमन्त्रीले रेल सञ्जाल निर्माण गर्न गरेको आग्रहमा चिनियाँ पक्षले त्यो दिर्घकालीन योजना रहेको जवाफ दिएको समाचार अनि प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिले हात मिलाईरहेको तस्वीर पहिलो पृष्ठमा छापेको छ।

नागरिक दैनिकले “नयाँ मोडमा नेपाल चीन नाता” शीर्षकको समाचारलाई महत्व दिदैँ सहमतिका १० बुँदा सहित समाचार छापेको छ।

इन्धन व्यापार गर्न चीन तयार रहेको उपशीर्षक दिएको नागरिककले नेपाल र चीनबीचको पछिल्लो सम्झौताले भूराजनीति फेरिने अपेक्षा रहेको छुट्टै समाचार छापेको छ।

तस्वीर कपीराइट EPA

उसले लेखेको छ, “पारवाहन सम्झौतापछि चीननजिकको समुद्री मार्गबाट व्यापार गर्न सकिने भएकाले अब नेपाल भारतीय नाकाबन्दीको शिकार हुनुपर्ने अवस्थाबाट मुक्त त भएको छ नै यसले मनोवैज्ञानिक रुपमा नेपाललाई स्वतन्त्र राष्ट्रको पहिचान कायमसमेत गराउने विज्ञहरु बताउँछन्।”

चुनौती

“चीनसँग १० सम्झौता” शीर्षकमा पहिलो पृष्ठमा समाचार प्रकाशन गरेको अन्नपूर्ण पोष्ट दैनिकले दोस्रो पृष्ठमा चीनका लागि नेपाली राजदुत महेश मास्ककेको अन्तर्वार्ता छापेको छ जसमा उनले चीनसँग इन्धन आयातबारे चाँडै व्यवसायिक सम्झौता हुने जानकारी दिएका छन्।

पूर्वाधार निर्माणपछि मात्र व्यापार र पारवहन सम्झौता कार्यन्वयनमा आउने, पोखरा विमानस्थल निर्माणका लागि भएको ऋण सम्झौता र राष्ट्र बैँक र चिनियाँ ब्याङ्क बीचको सम्झौतालाई उसले अर्थ पृष्ठमा महत्वका साथ छापेको छ।

रिपब्लिका अंग्रेजी दैनिकले नेपाल र चीनबिच ऐतिहासिक व्यापार र पारवहन सन्धि भएको समाचारलाई व्यानर शिर्षक सहित छापेको छ।

उसले चिनियाँ राष्ट्रपतिले नेपालसँग दिर्घकालीन र रणनीतिक महत्वको सम्बन्ध राख्न चाहेको भन्दै यसै वर्षको अन्त्यमा नेपाल भ्रमण गर्ने उनको योजना रहेको समाचारलाई उपशीर्षक दिएर छापेको छ।

महत्वका साथ पहिलो पृष्ठमा चीन र नेपाल बीच भएका सम्झौताबारे समाचार छापेको द हिमालयन टाइम्सले, व्यापार विविधिकरण र आर्थिक जोखिम घटाउन भएका सहमतिलाई भ्रमणको कोशेडुंगा भन्दै सम्पादकीय पनि लेखेको छ।

तस्वीर कपीराइट AP

‘बेइजिङ सम्झौताले नेपाललाई के फाइदा?’ शिर्षक सहित नयाँ पत्रिका दैनिकले प्रथम पृष्ठमा पारवहन सम्झौता के हो र नेपालले के पाउँछ भन्ने प्रश्नोतर प्रकाशित गरेको छ।

नेपाल समाचार पत्र दैनिकले सम्पादकीय लेख्दै भनेको छ, “पारवाहन र यातायतसम्बन्धी सम्झौता सबैभन्दा दूरगामी महत्व राख्ने सम्झौता हो। हालै दक्षिणको सिमामा नाकाबन्दीको मार खेप्नुपरेको नेपालले अब उत्तरको बाटोबाट समुन्द्रसम्मको पहुचमा सहजता प्राप्त गर्नेछ।”

तर उक्त सम्झौता कार्यान्वयनका चुनौतीबारे उल्लेख गर्दै उसले अगाडि लेखेको छ, “तातोपानी नाका भूकम्पपछि बन्द छ र अन्य नाकाहरुको अवस्था पनि अप्ठेरो छ। त्यही भएर दुई देशलाई जोड्ने पूर्वाधारहरुको निर्माण हर हिसाबले अघि बढाउनु आवश्यक छ।”