सम्झौता देशको आवश्यकता अनुरुप: प्रम

  • 22 मार्च 2016
तस्वीर कपीराइट Mahesh Acharya
Image caption प्रम ओलीले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका छन्

प्रधानमन्त्री केपी ओलीले चीनसंग गरिएको पछिल्लो पारवहन सम्झौता कसैप्रति लक्षित नभइ नेपालको आवश्यकताले निर्देशित भएको बताएका छन्।

राजनीतिक मुद्दासंग जोडिएर भारतीय सीमा नाका, तथा नेपालले तेस्रो मुलुक आयात निर्यातका लागि प्रयोग गर्दै आएको एकमात्र माध्यम-- कोलकाता बन्दरगाहामा, हालै अवरोध देखिएपछि नेपालले चीनतिरको विकल्प पनि खुला गरेको कतिपयको टिप्पणीमाझ प्रधानमन्त्रीको त्यस्तो भनाइ आएको हो।

उनले भारत र चीनसंगको सम्बन्धलाई नेपालले सन्तुलनमा राख्दै आएको र त्यसलाई भविष्यमा पनि निरन्तरता दिइने बताए।

आश्वस्त पार्ने प्रयास

चीनसंग कूटनीतिकसम्बन्ध गांसेको छ दशक नाघ्दासम्म पनि नेपालले उक्त उत्तरी छिमेकीसंग पारवहन अधिकारका लागि कहिल्यै ठोस प्रयास गरेको थिएन।

तर नेपालको घरेलु राजनीतिसित प्रत्यक्ष गांसिएजस्तो देखिने कदममा हालै भारतसंगको सीमा नाकामा चरम अवरोध उत्पन्न गरिएपछि चीनसंगको पारवहन सम्झौताले तीव्रता पाएको देखियो जसलाई धेरैले दक्षिणी छिमेकी भारतको रवैयाप्रतिको जवाफका रुपमा व्याख्या गरेका छन्।

यद्यपि प्रधानमन्त्री ओलीले, भारतको नाम त लिएनन् तर पछिल्लो पारवहन सम्झौता कसैप्रति लक्षित नरहेको भन्दै दिल्लीलाई आश्वस्त बनाउने कोसिस गरेको देखियो।

बेइजिंगमा सञ्चारकर्मीहरुसंग ओलीले भने, “यो एउटा ऐतिहासिक उपलब्धि तथा नयाँ परिघटना हो। तर नेपालको निम्ति यो आवश्यक छ। यसको अर्थ यो कसैप्रति कुनै हिसाबले लक्षित भने होइन। नेपालको हक अधिकारप्रतिको सजगता हो। तसर्थ यसलाई फरक ढंगले व्याख्या गर्नु उचित हुँदैन।”

लगानी

पारवहन सम्झौतालाई महत्वपूर्ण उपलब्धिका रुपमा उनले व्याख्या गरेपनि चीनसंगको इन्धन खरिद सम्झौता ठोस रुपमा अघि नबढ्दा कतिपयले अनेकौं शंका उपशंका गरेका छन् जुन मूलत: नेपालमाथि प्रत्यक्ष, अप्रत्यक्ष भारतीय दबाबका रुपमा अर्थ्याइएका छन्।

त्यस्ता आशंकाप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले भविष्यमा उक्त सम्झौता हुने ठोकुवा त गरे, तर समयसीमा तोक्ने मनस्थितिमा उनी देखिएनन्।

“इन्धन अलि समय लाग्ने विषय हो। अलि समयपछि यसबारे कुराकानी हुन पनि सक्छ। हामीले तत्काल इन्धन नपाउने वा नपाइरहेको अवस्था पनि होइन। यस सम्बन्धमा सुविचारित ढंगले विस्तारै हामी गर्न सक्छौं,” उनले भने।

इन्धन सम्झौताका लागि नहतारिने सोचमा देखिएपनि ओली नेपालमा चिनियाँ लगानी विस्तार गर्न ढिलो गर्न नहुने पक्षमा पाइए।

लगानीको सहजीकरण र सुरक्षाका लागि सरकारले पर्याप्त कदम चाल्ने भन्दै ओलीले चीन-नेपाल लगानी मञ्चमा भेला भएका चिनियाँ उद्योगी व्यवसायीहरुलाई लगानीका लागि मंगलबारै आह्वान गरेका थिए।

त्यसअघि बेइजिंगस्थित रेनमिन विश्वविद्यालयमा एउटा प्रवचन कार्यक्रममा बोलेका ओलीले नेपाल, चीन र दक्षिण एसिया जोड्ने पारवहन केन्द्र बन्न सक्ने टिप्पणी गर्दै त्यसतर्फ ध्यान दिन चिनियाँ पक्षलाई आग्रह गरेका थिए।