ब्रसल्स आक्रमणको सम्झनामा मौनधारण

  • 23 मार्च 2016
तस्वीर कपीराइट Getty

बेल्जियमका नागरिकहरुले मंगलबार ब्रसल्समा गरिएका आक्रमणका पीडितहरुको सम्झनामा एक मिनेट मौनधारणा गरेका छन्।

हजारौं मानिसहरु शहरको केन्द्रीय भागमा जम्मा सडकपेटिमा लेखिएका आफूहरु नझुकेको भन्ने खालका सन्देशका छेउमा मैनबत्ती बालेका थिए र पुष्पगुच्छा अर्पण गरेका थिए।

युरोपियन युनियनको मुख्यालयमा युरोपेली कमिसनका नेताहरुसहित राजा फिलिप, प्रधानमन्त्री शाल मिसेल र फ्रान्सका प्रधानमन्त्री म्यानुअल भाल्स सहभागी थिए।

साँझका लागि निर्धारित बेल्जियम र पोर्चुगलबीचको फुटबल खेल मंगलबारको हमलाको कारण देखाउँदै स्थगित गरिएको छ।

समाचार

तस्वीर कपीराइट

यसैबीच बेल्जियमका सञ्चारमाध्यमहरुले मंगलबारको घटनामा संलग्न प्रमुख संदिग्ध पक्राउ परेको भन्ने आफूले प्रकाशित गरेको समाचार हटाएका छन्।

त्यसअघि उनीहरुले विमानस्थलको आक्रमणमा संलग्न रहेको भनिएका प्रमुख हमलाकारी नाजिम लासरावी एण्डरलेख्ट क्षेत्रबाट पक्राउ परेको जनाएका थिए।

बीबीसीका सुरक्षा संवाददाता भन्छन्, लासरावीले ३० जनाभन्दा बढीको ज्यान लिने गरी विमानस्थल र मेट्रो स्टेशनमा गराइएका विष्फोटमा प्रयोग भएका बम बनाएको विश्वास गरिएको छ।

यसअघि बेल्जियमको सार्वजनिक प्रसारकले ब्रसल्सको विमानस्थलमा आफूलाई विष्फोट गराउने दुई आत्माघाती हमलाकारीहरु दाजुभाई रहेको समाचार प्रसारण गरेका थिए।

खालिद र ब्राहिम एल ब्याकरावीका बारेमा प्रहरीहरु जानकार थिए।

सतर्कता

ब्रसल्सको विमानस्थल र केन्द्रीय मेट्रो स्टेशनमा गराइएको आक्रमणमा ३४ जनाको ज्यान गएको थियो भने दुई सयभन्दा बढी घाइते भएका थिए।

तस्वीर कपीराइट AP

इस्लामिक स्टेट समूहले आफूले उक्त हमला गराएको बताएको छ।

बेल्जियमले तीनदिने राष्ट्रिय शोक घोषणा गरेपछि देशभर राष्ट्रिय झण्डा आधा झुकाइएको छ।

ब्रसल्समा थप प्रहरी र सैनिकहरु परिचालन गरी उच्चस्तरको सुरक्षा सतर्कता अपनाइएको छ।

यद्यपि स्थानीयवासीहरुलाई आफ्नो दैनिकी जारी राख्न आग्रह गरिएको छ।